छानिए, ‘नेपालगन्ज नक्षत्र’

सांस्कृतिक क्षेत्रमा बालबालिकाहरुको सहज पहुँच भएको भन्दै प्रतिष्पर्धीहरु उत्साहित

दैनिक नेपालगन्ज/स्मृति देवकोटा

गायन, नृत्य र कविता विधामा बालबालिकाहरु बीच प्रतिस्पर्धा गराई ‘नेपालगन्ज नक्षत्र’ छनोट गरिएको छ । बार्दली फाउण्डेशनले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिस्पर्धात्मक साहित्य, संगीत र नृत्यको प्रतिभा छनोट गरेको हो ।

‘नेपालगन्ज नक्षत्र’ मा सहभागी बालबालिकाहरुले यस खालको कार्यक्रम आफ्ना लागि प्रतिभा देखाउने अवसरका रुपमा लिएका छन् । नेपालगन्ज उपमहानगरपालिका सँगको सहकार्यमा बार्दली फाउन्डेसनले गरेको नेपालगन्ज नक्षत्र – २०७५ ले आफुहरुलाई हौषला दिएको सहभागीहरुको धारणा छ ।

 

धम्बोझी मा.वि मा अध्यनरत लक्ष्मी अधिकारीले भनिन् ‘आफ्नो प्रतिभा देखाउन पाएकोमा खुसी छु ।’ मज्जाले नाचेकी लक्ष्मीले सानै देखि नृत्य गर्ने रहरमा अभिभावक र गुरुहरुको साथ पाएको बताइन् । सांस्कृतिक भेषभुषामा सजिएकी लक्ष्मीले सबैको प्रेरणाबाट नै नृत्यमा अगाडि बढेको बताउँछिन् । बार्दली र नेपालगन्ज उप महानगरपालिकाले फेरि पनि बालबालिकालाई उनिहरुको प्रतिभा बाहिर ल्याउनको लागि यस्ता कार्यक्रम गरिरहनुपर्ने उनको जोड छ ।

 

गायन क्षेत्रमा पहिलो पटक सार्वजनिक मन्चमा आफ्नो प्रतिभा देखाउन आएका सगरमाथा इ.मि विद्यालयका शिशिर जिएमले पनि लक्ष्मीको जस्तै खुशी व्यक्त गरे । उनी भन्छन, ‘मैले पहिलो पटक यति ठुलो मन्चमा गाउन पाएकोमा खुशीको सिमा छैन ।’ यस अघि स्कुल बाहेक अरु कुनै मन्चमा गीत गाएको अनुभव नगरेको उनले सुनाए । ‘पहिलो पटकनै मैले दर्शकहरुको मायाँ धेरै पाएँ त्यसैले म खुशी छु ।’ इन्जिनियर बन्ने सपना देखेका शिशिरले अहिले गायन क्षेत्र प्रति लहसिएका छन् ।

नेपाली संस्कृतिको पहिचान गराउनको लागि पहिरनमा सजिएर आफ्नो कला प्रस्तुत गर्न आएकी रिचा कुँवरले पनि नेपालगन्ज नक्षत्रका मञ्चमा प्रस्तुत हुन पाएकोमा हर्ष व्यक्त गरिन् । धम्बोझी स्थित भेरी स्कुलमा अध्ययनरत उनले आफु पहिले पनि धेरै कार्यक्रममा सहभागिता जनाइसकेको बताइन् । ‘तरपनि यसको छुट्टै मजा छ,’ आउने दिनमा पनि नगरपालिका र बार्दलीले बालबालिकाहरुमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउनलाई यसखालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै भनिन् । उनलाई नृत्य बाहेक किताब पढ्नमा रुचि छ ।

‘लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन अवसरको आवश्यकता रहन्छ, बार्दलीले हामीलाई यस्तो अवसर दिएकोमा उत्साहित छु,’ होप इन्टरनेशनल स्कुलकी छात्रा सन्ध्या गैरेले दैनिक नेपालगन्ज सँग भनिन् । ‘कथा, कवितामा धेरै चासो भएकोले मन्चमा कविता मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकी छु’, उनले भनिन् । सन्ध्याले कविता लेखन, नृत्य र पढ्नमा रुचि राखेको बताइन् । प्रश्ना वि.सी भेरी स्कुलमा अध्यनरत बालिका हुन् । उनि पनि नृत्य क्षेत्रमा धेरैनैे रमाउने गर्छिन् । उनले आफनो प्रतिभा पहिलो पटक मन्चमा प्रस्तुत गर्न पाउँदा आयोजक प्रति आभार व्यक्त गर्छिन् ।
आइतवार भएको कविता, गायन र नृत्यमा प्रतियोगिताको फाइनलमा ठुलै जमघटबीच बालबालिकाहरुले आफ्ना प्रतिभा प्रस्तुत गरे । विभिन्न चरणमा छनोट भएका कवितामा ६ जना, गायनमा ८ जना र नृत्य एकल र सामुहिक गरि ९ जनाको छुट्टै समूहका प्रतिभाले आ–आफ्ना समूहमा प्रतिष्पर्धा गरे ।

बार्दली फाउन्डेसनका अध्यक्ष भोजराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता गरेका नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख धवल समशेर राणा गरे । उपप्रमुख उमा थापा मगर, बरिष्ठ साहित्यकार सनत रेग्मी लगायतले आयोजना बारे बालेका थिए ।

 

प्रतियोतिगामा एकल नृत्य तर्फ गरिमा चौधरी, श्रीया धिताल र प्रान्जली प्रसाई क्रमश प्रथम, द्वितिय र तृतीय भएका छन् । सामुहिक नृत्य तर्फ ब्रिटिस इङलिस मिडियम स्कुल प्रथम, भेरी ईङलिस मिडियम स्कुल द्वितिय, नेपालगन्ज मोडेल स्कुल तृतीय र धम्बोझी मा.वि. सान्त्वना भएको छ । एकल नृत्य तर्फ क्रमश १० हजार, ७ हजार र ५ हजार र सामुहिक नृत्य तर्फ ५ हजार, ३ हजार, २ हजार र १ हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।

कविता तर्फ अनिस सुवेदी प्रथम, पार्वती सार्की द्वितिय र सन्ध्या गैरे तृतीय स्थान हासिल गर्न सफल भएको बार्दलीका सचिव ऋचा लुइटेलले जानकारी दिइन् । प्रथम, द्वितिय र तृतीयलाई क्रमश ५ हजार, ३ हजार र २ हजार पुरस्कार राशी प्रदान गरिएको छ । गायन तर्फ शिशिर जिएम प्रथम, कृतिका प्रसाई द्वितिय र आशिष विक तृतीय भए । प्रथम, द्वितिय र तृतीयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी प्राप्त गरेको सचिव लुइटेलले जानकारी दिइन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया