खगेन्द्र गिरि ‘कोपिला’
दुनै पुगेको भोलिपल्ट बिहानबिहानै हामी पश्चिम लाग्यौं । उही ठूलीभेरीको किनारैकिनार । उही धुपिचौर, उही रुपगाड र उही कालागौंडाको धुलेबाटो । आजको हाम्रो गन्तव्य त्रिपुराकोट हो । हिजो जुफालबाट ओर्लिएर आउँदाको भन्दा आजको बिहान झनै मनोरम देखियो । जताततै उस्तै सुख्खा, उस्तै उजाड, उस्तै ढुङ्गा र उस्तै माटो । वारिपट्टिका भन्दा पारिपट्टिका पखेराहरु झन् शुष्क । उजाड पखेरामा उभिएका पातला रुख त वारिबाट पनि गन्न सकिन्छन् । हिजो राती भएको हिमपातले माथिमाथिका टाकुराहरु हिउँमा डुबेका छन् । राता पहाडहरुले सिंउँदोमा सेतो सिन्दुर सजाएजस्तो । ठूली भेरीको बगर यतिखेर सुनसान छ । गाईबस्तु र मान्छेको कल्याङमल्याङ दिउँसो भएपछि बढ्दै जाला । ढुङ्गाहरुमा ठोक्किदै बग्दै हिडिरहेको नदी, नदीको एकसुरे छङ्छङ् आवाज, क्षणक्षण बदलिने पानीरंग, सेता ढुङ्गा, सेतो फिंज, नीला दह, बन, बस्ती र पहाडहरु, आफ्नो अनुपम सौन्दर्य पस्किरहेका छन् । भन्ज्याङ, थुम, थुम्का, थुमटार, थुमचौरहरु ठडिएका छन् पूर्वदेखि पश्चिमसम्म लहरै । के होला यो सिङ्गै पहाडी श्रृङ्खलाको नाम?
माथिमाथिका अग्ला थुम्कामाथि ससाना बस्ती देखिए । गाउँको भू बनोट जति विकट देखिन्छ नाम भने निकै प्यारा लागे । अग्लो पहाडको वल्लो छेउदेखि पल्लो छेउसम्म औंलाले देखाउँदै प्रकाशले गाउँका नाम भने— रुम, रसी, रल्ली, मद्दु, रंग, गल्ली, हुम, कोरेलीकाँडा, लिकु, दल, पहाडा । प्रकाशले फरर गाउँका नाम उच्चारण गर्दा मलाई लय हालेर कुनै मन्त्र पढे जस्तो अनुभूति भयो । विचित्रका चट्टानी रुपाकृतिहरु जति हे¥यो उति हेरुँजस्ता । खुईलिएका उजाड पहाडहरु अमूर्त चित्रकलाको लावण्य बोकेर उभिएका छन् आँखै अगाडि । नाङ्गा र फुस्रे पहाडको लौकिक सौन्दर्यको वर्णन गर्न आज अक्षर पनि पराजित भएका छन् । टुहुरा अक्षर र विवश शब्दहरुको व्याकुलता छल्कियो आँखा भरीभरी ।
जुफाल मुन्तिरको माटो खस्ने साँगुरो बाटो काटेपछि भित्ती नामको गाउँ आयो । मरुभूमिको बीचमा हरियो कचौरा भेटिएजस्तो लाग्यो । गहुँबारीमा लहलह झुलिरहेका गह्राहरुले गाउँ शोभायमान भएको छ । गाउँ वरपर रुख, वृक्ष पनि ढकमक्कै छन् । बाटोको छेउ र खेतका आलीमा कलकल बगिरहेको कुलो गाउँमाथिको उजाड पाखोबाट मुल फुटेर आई यो गाउँलाई सिंचित गरिरहेको छ तर माथिको पाखो आफू भने सुख्खा देखियो । आफू सुकेर पनि अरुलाई फुलाउँछन् प्रकृतिका यी बरदानहरु ।
जुफालको पल्लो पाखोमा अलि माथि चु र अलि तल सु नामका गाउँ छन् । तर चु र सुको अर्थ भने प्रकाशले पनि लगाउन सकेनन् । भित्तीबाट अगाडि गएपछि सु गाउँको मुन्तिर सुपानी भन्ने ठाउँमा जीप रोकियो । सुपानीको धुलेबाटो छोडेर ओरालो लाग्यौं । भेरी नदीको झोलुङ्गे पुल तरेपछि हरिया रुखहरुले घेरिएको गाउँका चित्र आँखा वरपर सल्बलाए । यो रहेछ बगरगाउँ । नीला सेता जस्तापाता ओढेर, सेतो रङ्ग पहिरेर चिटिक्क परेका घरसंगै मुस्ुकराइरहेको छ बगरगाउँ । वर्षा थामिएपछिको उज्यालोझैं झलमल्ल पोखिएको छ चारैतिर चहकिलो घाम । पहिलो झलकले मुग्ध पा¥यो । बगरगाउँमा सल्लाका काठ र ढुङ्गाले बनेका कलात्मक घर र होटेलका लश्कर देखिए । चौडा बाटो र कलकल बगिरहने कुलाले गाउँ रसिलो छ भन्ने जनाउ दिए । वरपरका फराकिला खेतबारीमा गहुँ बाली झुलिरहेका छन् । डोल्पा आएपछि देखिएका ठुलीभेरी नदी वरपरका गाउँहरुमा सबैभन्दा मलिलो र रसिलो ठाउँ यही लाग्यो । बगरगाउँबाट तेरपायाँतेरापायाँ उकालो बाटो हिंडिरहँदा आँखै अगाडिको त्रिपुराकोट भन्दा गहिरो फाँटमा छरिएको बगरगाउँलाई फर्किफर्कि हेरिरहेका छन् आँखाहरु । नाङ्गा पहाडको गर्भबाट रसाएर बगिरहेका कुलासंगै मभित्रको मन पनि रसाएको छ आज ।
शान्त पहाडको नाङ्गो छातीमा नागबेली बाटो हुँदै उँभो लागिरहेका छौं हामी । स्थिर उभिएका छन् बाटो छेउछाउका सल्लाका रुखहरु र हरिया बुट्टयानहरु । चञ्चल छन् केवल सल्लाका पात र हाम्रा जिज्ञासु आँखा मात्रै । जति माथि बढ्यो उति स्वच्छता र शान्तिको अनुभूति बढ्दै गयो । आधा घण्टाजति उकालो चढेपछि त्रिपुराकोट पुगियो । मन्दिरभन्दा अलि तल वरपीपलको चौतारो भएको खौला भन्ने ठाउँबाट ढुङ्गैढुङ्गाको सिंढी भएर मन्दिर भएको थुम्को कोटगडीसम्म पुग्यौं । सिढींदार उकालो चढ्दै त्रिपुरासुन्दरी भगवतिको मन्दिरको प्राङ्गणमा पुगेपछि आल्हादित भयो मन । वरपरका फुस्रा पहाडमा पोखिएको सूर्यको स्वर्णिम रङ्ग प्रकाश छर्दै आँखामा ठोक्किन लाग्यो । हिमाली वनकुसुम चुमेर आएको बतास भिराला पाखाहरुमा उभिएका पीपलु पातलाई सुस्तरी—सुस्तरी स्पर्श गरेर फेरि दौडिदै जान्छ पारिपट्टिका पाखाहरुलाई अँगालो हाल्न । मुकुट हिमालको चम्किलो टलकले तानिरह्यो मनलाई । कान वरिपरि मीठो झङ्कार छोडेर गयो मन्दिरका शंखघण्टहरुको मधुरो आवाजले । चिम्म आँखा चिम्लेर एकछिन हराएँ आफैभित्र ।
आस्थाको एउटा मीठो तरङ्ग आँखाभरी आद्र्रता पोखेर हृदयको तारलाई छेड्न पुग्यो । वरपर फिंजिएको धूपबत्तीको सुगन्धले मन र मस्तिष्कलाई मदहोश बनायो । हावाको शीतल झोक्का पनि किन यति सुगन्धित लागेको होला आज !
युवा पुरोहित भूपेन्द्र न्यापानेले वैदिक मन्त्रोच्चारण गरी पुजा गराइदिए । दुई हजार पचहत्तर साल वैसाख आठ गतेको बिहान, वैसाख शुक्लपक्षको षष्ठी तिथि परेको छ आज । पुरोहितले नाम, गोत्र, ठेगाना सबै सोधेर तिथिमिति सबै जोडेर सिलसिलेबार ढङ्गले मन्त्रोच्चारण गर्दै विधि मिलएर पूजा गराई दिए । आँखा चिम्लिएर निकै बेर उभिइरह्यौं भगवतिको मुर्ति अगाडि । रामचन्द्रसर शंकराचार्य विरचित क्षमापनस्तोत्र पाठ गर्न लाग्नु भो ः
न मन्त्रं नो यन्त्रं तदपि च न जाने स्तुति महो ।
न चाव्हानं ध्यानं तदपि च न जाने स्तुति कथा ।
न जाने मुद्रास्ते तदपि च न जाने विलपनं ।
परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम् ।
हिजो वैसाख शुक्लपक्षको षष्ठी तिथि आदि जगद्गुरु शंकराराचार्यको जन्मतिथि हो । त्यही पावन दिनको भोलिपल्टको तिथिमा त्रिपुरासुन्दरी मन्दिरमा उहाँद्वारा रचित मन्त्रहरु सुन्दा श्रद्धाको मीठो तरङ्ग मुटुभरि छचल्किएर आयो । पुजारीले मन्दिरमा आउने दर्शनार्थीहरुलाई टीका र अक्षता लगाइदिएपछि प्रसादीको रुपमा अपुङ्गो दिंदारहेछन् । घिउ, चिनी र गुहँको पिठो मिसाएर बनाइएको अपुङ्गो धेरै दिनसम्म बिग्रिदैन । पूजा सकेर पटाङ्गिनीमा टोलाएर बस्यौं निकैबेर । अर्का पुरोहित यज्ञप्रसाद न्यौपानेले चिया पिलाए र त्रिपुरासुन्दरी भगवति मन्दिरसंग जोडिएका कथा सुनाउन लागे । हाल त्रिपुरासुन्दरीको गजुर शैलीको मुख्य मन्दिर रहेको स्थलमा पहिले राजा विक्रम शाहीको दरबार थियो रे । यस ठाउँलाई त्रिपुराकोट भनिन्थ्यो र अचेलसम्म भनिन्छ पनि । उहिले दरबारको पहाडिपट्टि एउटा ओखल थियो रे । सो ओखलबाट पुतलीको रुपमा त्रिपुरासुन्दरी प्रकट भै सर्वप्रथम राजा विक्रम शाहीका काजी कुमार बिष्टलाई दर्शन दिएकी थिइन् भन्ने किंवदन्ती सुनाए उनले । यो विक्रम संवत् चौध सय दशको घटना हो रे । पहिले त्यही ओखलनिरको बेरुको रुखको फेदमा देवीको पूजा गरिन्थ्यो रे । उनै विक्रम शाहीका सन्तान र शाहवंशीय राजाहरुको पालामा पटकपटक यस मन्दिरको निर्माण र पुनःर्निर्माण हुँदै आयो ।
कर्णाली प्रदेश र खस संस्कृतिमा बारह भाइ मष्टो र नौ बहिनी भगवतिको ठूलो महिमा छ । बारह भाइ मष्टोमा ढँडार, कवा, कालोसिल्टो, धवलपुरो, लरिचाल, दुधेसिल्टो, दाढे, थार्प, बुडु, कैलाश, लाँखुरो र सुकिलोहस मष्टो हुन् भने नौ बहिनी भगवति मालिका, कालिका, कनकासुन्दरी, त्रिपुरासुन्दरी, जालपा, खेसमालिनी, ठिंग्याल्नी, दुलेल्नी र बिन्दुबासिनी मानिन्छन् ।
त्रिपुरासुन्दरी भगवतीका मन्दिर बैतडी र धादिङमा पनि छन् तर सबैभन्दा प्रमुख डोल्पाको त्रिपुरासुन्दरी मन्दिरलाई नै मानिंदोरहेछ । त्रिपुर अर्णव नामक आगम ग्रन्थका अनुसार मानिसको शरिरमा इडा, पिंगला र सुषुम्ना नामका तीन ओडा नाडी हुन्छन् । इडा नाडीलाई स्त्रीतत्व, पिंगला नाडीलाई पुरुषतत्व र सुषुम्ना नाडीलाई अग्नितत्व मानिन्छ । यी तीन ओटा नाडीले मानिसको मन, बुद्धि र चित्तलाई परिचालित गर्छन् जसलाई त्रिपुर भनिन्छ । त्रिपुरको केन्द्रमा बसेर नाडीलाई संचालन गर्ने शक्ति नै त्रिपुरासुन्दरी मानिन्छन् ।
त्रिपुराकोटमा तीन ओटा थुम्का छन् । सबैभन्दा माथिल्लो कोटगडीमा मुख्य मन्दिर, यज्ञशाला, बेरुको रुख, चौतारो, पानीको धारा र गोदानघर छन् भने बीचको थुम्कोमा हेलीप्याड र धर्मशाला छन् । तल्लो थुम्को, जसलाई खौलो भनिन्छ, त्यसमा चौतारो र पसल छन् । खौलाको वरपर पातलो गाउँ छरिएको छ । त्रिपुराकोटलाई चारैतिरबाट उत्तुङ्ग पहाडहरुले पहरा दिइरहेका छन् । उत्तरतिरको मुकुट हिमाल शिरैभरी हिमानीको रास थुपारेर मुस्कुराइरहेको छ भने अन्य पहाडहरु छातीभरी चट्टान बोकेर उभिएका छन् । मानौं यी पहाडहरु त्रिपुरासुन्दरी भगवतिलाई पहरा दिने सैनिक हुन् । मुकुट हिमालभन्दा अलि परको आरुडाला भन्ने लेकबाट बग्दै आउने सुन्दरी खोला त्रिपुराकोटको पश्चिमपट्टि बाट बग्दै ठुलीभेरी नदीमा मिसिन्छ । त्यस सङ्गममा नुहाएर मात्रै त्रिपुरासुन्दरीको पूजा गर्न आउने चलन छ तर दर्शनार्थीहरु भने दक्षिणपूर्वपट्टि लमतन्न सुतेको बगरगाउँको सजिलो बाटो भएरै दर्शन गर्न आउँदारहेछन् ।
त्रिपुरासुन्दरी मन्दिरको वर्तमान भव्य संरचनाको निर्माण भारत सरकारको सहयोगमा भएको कुरा शिलापत्रमा पढ्यौं । अग्रभागमा राखिएको शिलापत्रले भारत सरकारले गरेको सहयोग भन्दा पहिले अनेकौं कालखण्डमा यस मन्दिरको निर्माण र जिर्णोद्वार गर्नेहरुको योगदानलाई भने चट्ट बिर्साइदिएको छ । आफूले गरेका दान, धर्म, उपकार र सबै पूण्य कर्महरुलाई गोप्य राखेर सुतपा बन्न सक्ने मान्छे नै सच्चा भक्त हो भन्नु हुन्छ स्वामी अवधेशानन्द । यहाँ भने भारतले पुराना योगदानलाई मेटाएर आफ्नो सहयोग कर्मलाई मात्रै स्थापित गर्न खोजेको देखेर मन नराम्ररी कुँडियो । वर्तमानको इतिहासलाई ठूलाठूला अक्षरमा लेख्नेहरुले विगतको इतिहासलाई पनि स्मरण गर्दा के बिग्रिन्थ्यो होला ?
यस्तैयस्तै मेटाइएका कैंयौं इतिहासहरु आँखाभित्र लुकाएर मौन उभिएको छ श्वेत हिमाल । पाटी पौआका भित्ताभित्तामा, धारो चौतारोका पर्खालपर्खालमा, बाटोघाटोका ढुङ्गाढुङगामा आस्थाका जीवन्त कथाहरु कुँदिएका छन् । ति सबै कथाहरुलाई समेटेर भोलिको पुस्ताले अवश्य नै लेख्लान् त्रिपुराकोटको सत्यकथा ।
‘ऊ त्यहीनिर छ राजा विक्रम शाहीको दरवारको भग्नावशेष’ साथी जयकृष्णले औंला सोझ्याए मुकुट हिमालपट्टि । पुरै पाखो हिउँले छोपिएको छ । ‘राजा कहिले यही त्रिपुराकोट त कहिले त्यही कोटमा बस्थे रे’ उनी इतिहासको चर्चा गरिरहेका छन् । म भने त्रिपुराकोट वरपरको स्निग्ध प्राकृतिक छटालाई केही मनभरि त केही क्यामेराभरी कैद गरेर लाने उपक्रममा व्यस्त छु । सुख्खा, उजाड र नाङ्गा पहाडको सक्कली रङ्गमा पनि विचित्रको सौन्दर्य भेटिरहेको छ मनले । आँखाले भन्दा मनले बोध गर्दो रहेछ नदेखिएको अलौकिक सौन्दर्यलाई । गोरखबहादुर बुढथापासरका आँखा पश्चिमपट्टिको ठाडो उकालोपट्टि सोझिएका छन् । उजाड पहाडको छातीभरी खोज्दै हुनुहुन्छ उहाँ आफ्नो घर जुम्ला जाने बाटोका किरिङमिरिङ रेखाहरु । लिकु र काइगाउँका उकालो काटेपछि दुईदिनमा पुगिन्छ रे यहाँबाट जुम्ला । आस्थाको श्रद्धाचुली आरोहण गरेर प्राकृतिक सौन्दर्यको रसास्वादन गरि सकेपछि थाकेको शरिरले खाना खोज्यो । त्रिपुराकोटबाट बगरगाउँ फर्किदा मध्यान्ह भैसकेको छ । हामी खाना खान पस्यौं होटेलमा ।
हामीसंग गफिन आइपुगे बगरगाउँका पूर्णप्रसाद न्यौपाने, पूर्णबहादुर बिष्ट, धर्मसिंह रोकाया, गोपा सार्कीहरु । कसैले कथा सुनाए, कसैले व्यथा सुनाए, कसैले नेतालाई गाली गरे, कसैले गुनासो पोखे । यी सुन्दै आएका सर्वकालिक कथाव्यथा भन्दा यार्चागुम्बाका कथाहरु सुन्न लालायित थिए कान । सबैभन्दा रोचक अनुभव सुनाए राजीमान बुढाले ।
मरेको मान्छे बाँचेर आएजस्तै हो सर यार्चागुम्बा टिप्न जानु भनेको । ज्यानको बाजी लगाएर जानुपर्छ यार्चा टिप्न तर हामीले टिपेको यार्चाले मालामाल भने को हुन्छन् को? थाहै हुन्न । हामी भने उस्ताका उस्तै छौं ।
एक याममा दुई चार सय यार्चा टिप्न सक्यो भने पनि धेरै भयो । भन्न त भन्छन् रुखका पात टिपेजस्तै गरि डोल्पाका मान्छेहरुले यार्चा टिप्छन् रे । उहिलेको जस्तो पाइन्नन् अचेल यार्चा, हिमालको भूमि मान्छेका पाइलाले थिलथिलो भैसक्यो । उम्रिन छाडिसके यार्चा । अब केही वर्ष यार्चा टिप्न रोक लगाएर हिमाललाई आराम गर्न दिनु पर्छ ।
‘यार्चा टिप्ने यस्तो जोखिमपूर्ण काम छोडेर अरु काम किन गर्नु हुन्न?’ मेरो प्रश्नले उनलाई केही उत्तेजित बनायो । आफ्नै लयमा बोलिरहे उनी ।
अरु काम के गर्ने हजुर, यहाँ त जे काम गरे पनि बालुवामा पानी हालेजस्तो हुन्छ । गाई भैसी पालौं घाँस पाइन्न, जसोतसो गरी पालौं दुध बिक्री हुन्न, बाख्रा, कुखुरा पालौं दाना अति महंगो छ । घोडा, खच्चर पालेर सामान ढुवानी पनि गरेँ साहुजीले ठगेर रुवाउँछन् । पुग्न त रस्सीका आलु दुनैसम्म पुग्छन् । कहिले बिक्री नभएर घरै फिर्ता ल्याउनु पर्छ ।
पुग्न त रङ्गका साग जुफालसम्म पनि पुग्छन् । कहिले डोकैमा सडेर बाटोमैं फ्याँकिन्छन् । हिउँदको हुरीजस्तै अस्थिर छ यहाँको व्यापार । अब रुकुमको बाटो त्रिपुराकोट आइपुगेपछि होटेल खोल्ने सुर गरेका छन् राजीमानले पनि ।
‘सकिन्न सर अब त लेक पुगेर किरा टिप्नँ, उइलका जसा पाइँदा पनि पाइन्नन्’ डोल्पाको लबजमा बोलिरहे उनी ।
वर्षेनी घाम, बतास, शीत, वर्षा र हिउँका प्रहारहरु झेलेर पनि हरेश नखाएको राजीमान बुढाको शरिर आज निकै चहकिएको छ । कथैकथाले भरिएको उनको मन आज उन्मुक्त भएर हाम्रा अगाडि पोखिरह्यो । हामीले सुनिरह्यौं ।
अपरान्हतिर हामी बगरगाउँबाट हिंड्यौं । पहाडका घुमाउदार लहरहरु खुला आकाशको मुन्तिर उस्तै गरी रंग छर्किरहेका छन् । पारिपट्टिको अग्लो पहाडले घामलाई छेक्ने तरखर गरिरहेको छ । दिनभरी मुकुट हिमालको काखभरी पारिलो घाम पस्किने सूर्यको ताप सुस्तसुस्त ओइलाउँदै छ । ओर्लिदै गरेको सूर्यको मधुरो प्रकाश वरिपरिका माटे पहाडमा ठोक्किएर फिर्ता भएको केसरी रङ्ग हेर्दा हलुका नशा लागेजस्तो भयो ।
सुपानीबाट पश्चिमतर्फ गैरहेको बाटोमा सामान बोकेर हिंडिरहेका घोडा र खच्चरका ताँतीले उडाएको धुलो वारिसम्मै आयो । डोल्पाको धुलो केवल धुलो मात्रै होइन, यहाँको जनजीवन चलायमान भएको सूचक पनि हो । जति धुलो उड्छ उतिनै दुर्गुछन् खच्चर र घोडाहरु अनि त्यत्तिनै व्यापारिक गतिबिधि बढ्दै जान्छन् । ठुलीभेरीको झोलुङ्गे तरेर फेरि बिहानै ओर्लिएको उकालो चढ्दै सुपानी पुग्यौं । आरती धरालाको पसलमा चिया पियौं । गोलभेंडा र पुदिना मिसाएको चटनीसंग उसिनेको आलु खायौं । ‘ख्वै आलुको स्वाद त आलुको जस्तो छैन नि’ हिजोदेखि मडारिएको प्रश्न फेरि पोखियो आज पनि । उत्तर आएन कतैबाट ।
जीपको आगमनलाई निकै बेर पर्खिनु प¥यो । उताबाट यात्रु लिएर आएपछि मात्रै यताबाट जीप पाउने संभावना हुँदो रहेछ । नत्र त उही धुलेबाटोमा लखरलखर हिंडाईको विकल्प छैन । मुकुट हिमाल मुन्तिरका पहाडी भूदृश्यसंग निकैबेर मौन वार्तालाप गरेर बस्यौं सुपानीमा हामी । वरपरका हिमाली टाकुरा र पहाडी थुम्काहरुले टाढैबाट साउती मारिरहे । यहाँका हरेक पहाड र हरेक थुम्काका लौकिक दृश्यहरु जति हे¥यो उति रहस्यका कथाले भरिएका जस्ता लाग्छन् । दुई दिन घुम्न आउने मान्छेका आँखाले टाढाबाट देखिने यो प्राकृतिक रहस्य, कुतुहलता र आकर्षणभित्र पुरिएको गरिबी र कष्ट के देखोस् । पहाड त हेर्नमा जति सुन्दर र रहस्यमय देखिन्छ भोग्नमा त्यत्तिकै कष्टकर र विकट हुन्छ । यार्चागुम्बाका अनगिन्ती कथाहरु छातीभित्र लुकाएर मुस्कुराइरहेको डोल्पा त झन् आफैमा कथैकथाको एउटा दुर्भेद्य पुस्तक हो । सहज किसिमले कहाँ पढ्न सकियो र किताबरुपि डोल्पालाई ? हामी पनि सुपानीको कलकल कुलोमा बगिरहेको निश्छल पानीजस्तै केवल सतहमा बगिरह्यौं । ढुङ्गा, चट्टान, माटो र थुम्काहरुमा ठोक्किरह्यौं ।
सुपानीबाट उकालो उक्लिरहँदा हाम्रो पनि मुखबाट निस्किरह्यो केवल वाह डोल्पा ! वाह यार्चागुम्बा !!