साहित्यकार कल्पना खरेलको कृति ‘रागिनी’ कथा संग्रह सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रम बीच विमोचन गरिएको छ । गौरी पव्लिक रिलेशन एण्ड पब्लिकेशनले प्रकाशित गरेको उक्त कथा संग्रहमा २० वटा कथा संग्रहित छन् । ‘रागिनी’ खरेलको चौथो कृति हो ।
अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्वारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि प्रसाद तिमिल्सिना, निबन्धकार सिर्जन लम्साल, उर्दू सायर जमील हाशमी, अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवश र कृतिकार खरेलले संयुक्त रुपमा कृति विमोचन गरेका थिए । कृति विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ कथाकार रेग्मीले संग्रह विषयवस्तु उठानका दृष्टिकोणले महत्वपूर्ण भएपनि अझैं परिष्कृत गरेर लेखनीलाई निरन्तरता दिन सुझाव दिएका थिए । कथाकार खरेलले आगामी दिनमा अझैं परिष्कृत रुपमा लेखनीलाई बढाउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
शुक्रऋषि चौलागाई, इन्द्र भन्डारी इन्द्रेणी, खगेन्द्र गिरि कोपिला र मिना बराल लगायतले कृति बारे बोलेको कार्यक्रममा ऋचा लुइटेल, चरित्रा शाह, सन्तोषी विष्ट, श्रीधर भन्डारी, प्रकाश सङ्गम र निरज दाहालले आ–आफ्ना रचना वाचन गरेका थिए । अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवशको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन संस्थाकी सचिव निशु जोशीले गरेकी थिइन् ।