बीस वर्षदेखि पाठकलाई घाइते बनाउने उलार

शंकर अशान्त
लेखक तथा साहित्यकार नयनराज पाण्डेलाई प्रत्यक्ष भेटेर ब्यवहार पढ्ने मौका सबै पाठकलाई हुन्छ, कारण हो उनको सादा जीवनशैली । उनीभित्र पाठकले उनीजस्तै लेखनी सरल र मिठास ब्यवहार पाउँछन् । उनका कृतिमा सामाजिक बिषयबस्तु त्यहीँको पात्रका माध्यमबाट जस्ताकोतस्तै बोल्छ । कथा या उपन्यास पढिरहँदा पाठकहरु सीधै सामाजिक घटनामा सामेल हुनपुग्छन् । यो पाण्डेको खुबी हो । उलार जन्मिएको बीस बर्ष भैसक्यो । यसको कहीँ न कहीँ चर्चा भैरहेकै छ । प्रिय सन्तानको रुपमा पाण्डे स्वयम् पनि यसको प्रसँग कोट्याइरहन्छन् । एकजना नाम चलेका लेखकले फेसबुकमा पढ्नैपर्ने केही पुस्तकको सूचीमा उलारको पनि नाम राखेका थिए । दोहेर्याएर पढन् प्यास बढ्यो । उलारले पाँचौ संस्करण पाइसकेको छ । कभर सहित एकसय चार पृष्ठको पछिल्लो उलार फाइनप्रिन्टले बजारमा ल्याएको छ,अत्यन्तै छरितो साईज र फटिक मुद्रणमा । जुन एक दुई बसाईमा पढेर सकिन्छ ।
दुखी पीडित र उपेक्षित पे्रमललवाको घनघोर सत्यकथानै उलारको प्राण हो । कथा र उपन्यास काल्पनिक पनि हुनसक्छन् । उलारमा भने कुनै कल्पना छैन । बरु असम्पादित सत्य छरपस्ट पोखिएको छ । कथाभित्रका भाषा लवज र सम्बादमा लगभग हेरफेर गरिएको छैन । भोक रोग अभाव र दुखकष्टको प्रतिमूर्ति प्रेपललवा उपन्यासको केन्द्रीय पात्र हो । मधेशको दुरुस्तै फोटोकपी छ उलारमा । जस्ताको तस्तै । गरिवी समस्या र अत्याचारले झनपछि झन् सीमान्तकृत बनेको उसको जिन्दगीको वरपर उपन्यास फनफनी घुमिरहेको छ । यसरी प्रेपललवाको संघर्षको कथा खडा छ उलार ।


कुनै जमाना नेपालगँजको प्रमुख सवारी साधन थियो टाँगा । एउटा घोडाबाट तानिने दुईपाँग्रे काठको सवारी साधन हो टाँगा । जुन आज लोपप्राय छ भन्दा फरक पर्दैन । तर यो उपन्यासले टाँगालाई जिवन्त बनाइदिएको छ । टाँगाकोा जिउँदो अभिलेख बनेर रहने भएको छ । धेरै मान्छे पछाडिपट्टि बस्दा सन्तुलन विग्रिएर उत्तानो हुनु उलार हो । गरिब प्रेमलालको एकात्र कमाईखाने भाँडो टाँगा तान्ने घोडा मर्नु,क्षतिपूर्तिको आश्वासानमा राजधानीको चिसोमा कैयौँ दिन भोकै भौतारिँदापनि रित्तै फर्किनु,घर आउँदा टाँगानै चोरी हुनु ,जीर्ण घर पानी चुहिएर भत्किनु,काठपात चोरिनु उपन्यासभित्र प्रेमललवाका दुखान्त दृष्यहरु ह्ुन् ।
नेपालगन्जको एउटा चुनावमा प्रेमललवा राजेन्द्रराजको पक्षमा दिलोज्यान दिएर लाग्छ । राजेन्द्रराजले प्रतिद्धन्द्धी शान्तिराजाबाट गुपचुपमा पचासहजार खाएको हुन्छ । दुईपक्षमा विभक्त कार्यकर्ताहरु बेखवर छन् । राजनीतिमा देखिने छुद्रताको पराकाष्टा यहाँ देखाइएको छ । कार्यकर्ता जतिपनि इमान्दार छैनन् नेताहरु । उपन्यासले यही सत्य उजागर गर्छ । आफ्नो पक्ष हार्दापनि विजयजुलुसमा टाँगा लैजानुपर्ने कारण बनेको छ प्रेमललवाको गरिवी । त्यहीँ टाँगा उलार हुन्छ । त्यही कारण घोडा मरणासन्न हुनेगरी थला पर्छ । बिन्तीपत्रजस्तो चिठी लिएर लाजकाज क्षतिपूर्ति माग्न गएको प्रेपललवा आस्वासनले तानिएर राजधानीसम्म पुग्छ । जुन ठाउँले उसलार्ई अपनत्व दिँदैन । भोकप्यासै कहिले सिँहदरवार कहिले मन्त्री निवास अनेकौं ठाउँमा धाउँछ । निराकार नामको पत्रकारको ठगीको सिकार बन्छ प्रेमललवा । जेनतेन भाडा बचाएर रित्तै घर फर्किन्छ ।
मरेको घोडाको क्षतिपूर्ति त पाएन । घरमा भएको पुरानो टाँगा चोरिनु र घर भत्किनुजस्ता थप विपत्तिले उसलाई कोरियनपुरमा भएको दशधुर जग्गापनि बेचेर निकै परको गाउँमा पुर्यायो । कोरियनपुर आउनुपूर्व बाजेको पालामा बजारलाईनको घडेरी बेचिएको थियो । यसरी सीमान्तकृत बन्दै गएको छ प्रेमललवा । यस्तो लाग्छ बिपत्तिका सारा चीज उमाथि बर्सिरहन्छ ।
उपन्यासमा देखाइएका केही कुराले पाठकको मन पोलिरहन्छ । तीसहजारको कागज गराएर दश हजारमात्रै थमाईदिने । दैनिक सय रुपैयाँ कमाइ हुँदा दश रुपैयाँ कसैलाई कमिसन दिनुपर्नेृ, । कुनै समय नेपालगँजमा मौलाएको गगजगन्जको यौन ब्यवसायको चर्चा उपन्यासको सनसनी पाटो हो । बुढो बाकै सामुन्ने ग्राहक खोज्नुपर्ने । त्यहीँ लावारिस जन्मिएकी सीतालाई पनि नावालकमै पेशामा लगाउने चर्चा कारुणिक पक्ष बनेर आएको छ । यौन ब्यवसायी भएर पनि दरउपदी प्रेमललवाको मायामा समर्पित छे । उसका ग्राहकमध्ये प्रेपललवा फरक हो ।
प्रेमललवाको जीवनमा देखिएका श्रृंखलाबद्ध विपत्तिले उसँग मर्न या मार्न बाहेक अरु विकल्प हुन्न । तर घर अचम्म प्रेमललवा सधैँ सामान्य बनेको छ । न उसले कसैलाई पीडा दिन्छ न जीवनदेखि हार खान्छ । बरु बचेको दशधुर जग्गा पनि पिंडालुको भाउमा बेच्छ र टाँगा ब्यवसाय पुनः चलाउँछ । उसको मनमा आक्रोस छ तर बदलाको भाव छैन । उद्घोष गर्छ , उप्रान्त शान्तिराजाको परिवारलाई टाँगामा चढाउने छैन । विपत्तिका अथाह पीडा भुल्न रक्सीको सहारा लिन बिवश प्रेपललवा अन्तमा दरउपदीको कोठीमा उसैको नाम चिच्याएर पुकार्छ । अनि उपन्यास सकिन्छ ।
उलारले टाँगाको मात्रै होइन । यसले समग्र समाजको उलार अवस्थालाई चित्रण गरेको छ । राजनीति,समाज र सम्बन्धमा हुने उलार । मधेसको पीडाको प्रतिबिम्ब हो ।

 
पे्रमललवा महान पे्रमी हुन् जसले अरुसँग सुतेको देखेरपनि दरउपदीलाई कहिल्यै पराई ठानेनन् । एकातिर यौनकर्मीको पनि मायाको फोल्डर हुन्छ भन्ने कुरा देखाईएको छ भने अर्कातिर मान्छे अत्यन्तै जब्बर प्राणी हो भन्ने कुरा यहाँ बुझ्न सकिन्छ । जतिसुकै घामपानीको पीडामा बाँच्न अभिषप्त हुन्छ भनेर बुझ्न सकिन्छ ।
नेपालगन्जकोे टाँगा सँस्कृतिको साक्षीमात्रै बनेको छैन बरु यसले सिंगो मधेसको पीडालाई उजागर गरेको छ । सिमान्तकृत प्रेमललवा यहाँको प्रतिनिधि पात्र हो । जसको जीवनशैलीले पाठकलाई आहत बनाईरहन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया