कोहलपुरमा पोष्टर कला प्रयोगात्मक गोष्ठी

समाचारदाता
दैनिक नेपालगन्ज

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको कला विभागको सहकार्यमा तक्षशिला एकेडेमीमा शनिबार पोष्टर चित्रकला प्रयोगात्मक गोष्ठी आयोजना गरिएको छ ।

 

कार्यक्रमको उद्घाटनमा बोल्दै कोहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी चौधरीले कोहलपुर क्षेत्र साहित्य र कलाको लागि उर्वर बन्दै गएकोमा खुशी व्यक्त गर्दै साहित्य र कला क्षेत्रमा यहाँका संघसंस्थाहरु अगाडि बढेमा नगरपालिका सहयोग गर्न तयार रहेको बताइन् । उनले कलासँग संबन्धित पठनपाठनको कक्षा संचालनका लागि तयार हुने संस्थालाई सहयोग गर्ने बताउँदै आगामी वर्षका लागि साहित्य र कला क्षेत्रका लागि बजेट विनियोजन गर्ने बताइन् ।

 

प्रदेश नम्बर ५, ६ र ७ दुई दर्जन बढी कलाकारहरुलाई व्यवसायिक चित्रकलाको विकासका लागि प्रशिक्षण कार्यक्रम संचालन गरिएको ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य तथा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख नारदमणी हर्ताम्छालीले दिंदै बताए ।

 

 

साहित्यकार तथा वरिष्ठ बालकथाकार रामदेव पाण्डेले कलालाई साहित्यसँग जोड्दै विद्यालय तहका पाठ्यक्रममा समेट्नु पर्ने बताए । साहित्यकार तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले कोहलपुर क्षेत्र साहित्य र कलाका लागि उर्वर रहेको बताउँदै यस क्षेत्रको प्राचीन र मौलिक कला थारु कला भएकोले शहरीकरण सँगसँगै लोप हुन थालेको थारु कलालाई संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।

 

 

पोष्टर निर्माण संबन्धि प्रतियोगितामा उत्कृष्ट ७ को छनौट गरी पुरस्कृत समेत गरिएको उक्त कार्यक्रममा दाङका कलाकार खगेश्वर भण्डारीले बनाएको लोगो प्रदेश नम्बर ५ को सांसदको उत्कृष्ट लोगोका रुपमा छनौट भएकोमा खुशी व्यक्त गर्दै उनलाई सम्मान समेत गरिएको थियो ।

 

 

सभापतिको मन्तव्य दिदैं कला विभागका संयोजक विक्रम शिशिरले राजधानी र मोफसललाई कलाको माध्यमबाट जोड्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताए । साहित्यकार सुमित्रा न्यौपानेबाट स्वागत तथा खोपिराम वलीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा कमल पछाई, दामोदर पौडेल, बासु गिरिले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया