अञ्जुले गाइन् महेशका रचना

वरिष्ठ कथाकार महेश विक्रम शाहले गीत रचना तिर रुचि मात्रै देखाएनन् दुई वटा गीत रेकर्डिङ्ग समेत गराएका छन् । उनका गीत चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतबद्ध गरेपछि गायिका अञ्जु पन्तले स्वर दिएकी हुन् ।

जीवन एक यात्रा न हो, तिमी मेरी सहयात्री
माया पाएँ छायाँ पाएँ, तिमीबाट चाहेजति…।
कथाकार महेशका यी पंक्तिलाई अञ्जु पन्तले स्वर दिएकी हुन् ।
किन हाँस्छन् आँखाहरु, तिमीलाई देख्दा
किन काँप्छन् ओठहरु, तिमीलाई भेट्दा
तिमीलाई पनि हुन्छ र यस्तो यस्तो
मायाले मन छोए जस्तो…।

शाहले रेकर्डिङ्ग स्टुडियोको तस्वीर सार्वजनिक गर्दै आफ्ना गीत अञ्जु पन्तले गाएको जानकारी दिएका हुन् । मदन पुरस्कार कृति छापामारको छोराका लेखक महेश विक्रम शाह मूलत कथामा चर्चित छन् । ‘अब उपन्यासतिर अगाडी बढेको छु’, गीत रचनाबारे केही नबोलेका शाहले केही दिनअघि कोहलपुरमा आयोजित भव्य साहित्यिक कार्यक्रम बीच ‘पूर्णिमा रत्न साहित्य पुरस्कार’ ग्रहण गर्दै घोषणा गरेका थिए ।

शाह छिट्टै आफ्ना रचनाको गीति एल्बम निकाल्ने तयारीमा छन् । ‘सानै देखि गीत लेख्ने रुचि चाहीं थियो, प्रोत्साहन अभावले यस क्षेत्रमा अगाडी बढ्न सकिएको थिएन’, गीत तिर लागेको हो ? दैनिक नेपालगन्जको प्रश्नमा स्रष्टा शाहले भने, ‘कलेज पढ्दा देखि नै ८÷१० वटा गीत लेखेर नातिकाजी र तारादेवीस“ग गीत गाइदिन भन्दै पुगेको हिजै हो जस्तो सम्झन्छु ।’

शाहले अञ्जु पन्तदेखि प्रमोद खरेलसम्मलाई आफ्ना रचना गाउन दिएका छन् । ‘सबै गीतमा अर्जुन पोखरेलले संगीत गर्नुभएको छ’, छिट्टै ५ वटा गीतको एल्बमको तयारीमा लागेको जानकारी दिंदै शाहले भने । उनको एउटा गीत कुरुक्षेत्र नामक चलचित्रमा गाइएको पनि छ ।

प्रतिक्रिया

प्रतिक्रिया