सृजन लम्साल

एक समयमा दक्षिण दिशाबाट कान्तिपुरी महानगरीमा महामहिम जादूगरज्यू पाल्नु भएछ ।

हुस्सुहरुका महासभामा जादू गर्न थाल्नु भएछ । उहाँले आफ्नो वाणीको सफाइ देखाउँदै भन्नु भएछ, ‘तपाईंहरु असल हुनुहुन्छ, राम्रो हुनुहुन्छ, महान हुनुहुन्छ । तपाईंहरु अझ असल बन्दै जानुस्, अझ राम्रो बन्दै जानुस्, अझ महान बन्दै जानुस् । तपाईंहरुको मन ऋषिमुनिको जस्तो होस्, आचरण बुद्धको जस्तो होस् । तपाईंहरुको लोकतन्त्रमा अल्पमतको जीत होस्, त्यति भएपछि तपाईंहरु हाम्रो राम्रो मित हुनुहोस् ।’

कान्तिपुरी महानगरीका हुस्सुहरुका एक हजार दुई सय दुई करकमलबाट करतल ध्वनि गुन्जिएछ केही समय पछि हुस्सुहरुले भन्न थालेछन्, ‘हामीले हाम्रा करकमल अर्थात् कलिला कलिला हत्केलामा ठेला परुन्जेल ताली त पड्कायौँ तर महामहिम जादूगरको जादूमय वाणीमा निहित अर्थचाहिँ बुझेनौँ नि हो १ लौन त्यसको अर्थ प्रस्ट पारिदिनु पयो’ भनेर दर्शकदीर्घामा विद्वान्हरुसँग अनुरोध गरे ।

जवाफमा दर्शकदीर्घाका विद्वान्हरुले भनेछन्, “महामहिम जादूगरको जादुमय वाणीको अर्थ त प्रस्टै छ’, यहाँहरुले नबुझ्नु भएको भए यसरी बुझ्नुहोस्, अर्थ यो हो, ‘अल्पमतलाई शासन दिनुस्, बहुमतलाई भाषण दिनुस्, तपाईंहरु प्राचीन समयका ऋषिमुनि वा गौतम बुद्धले झैँ सन्यास लिनुस्, तपाईंहरुले गर्ने काम गर्न हामी छौँ ।’ अब भने हुस्सुहरुका ठुल्ठुला घैँटामा घाम लागेछ । भन्न थालेछन्, ‘महामहिम जादूगरज्यू, हामीले नबुझीकनै ताली ठोकेछौँ । हामीले पड्काएको ताली फिर्ता लिन चाहन्छौँ ।’

प्रतिक्रिया

प्रतिक्रिया