बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरीय ५ औं अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुने भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख वजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार र तृतीय हुने विद्यालयलाई रु. १० हजार पुरस्कार दिने निर्णय गरिएको छ ।
प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुनेछन् । यस्तै रिले र हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत हुनेछ । प्रतियोगितामा विद्यालय तहका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।
आयोजक, जानकी गाउँपालिकाका अनुसार, यही माघ १९ गतेदखि २१ गतेसम्म जानकी गाउँपालिका वडा नम्वर ३ स्थित नेपाल राष्ट्रिय प्रावि मानपुरमा प्रतियोगिता सञ्चालन हुनेछ ।
गाउँपालिका अध्यक्ष छब्बल खाँको अध्यक्षतामा बसेको बैठकमा पालिका उपाध्यक्ष रामप्यारी यादव, वडाध्यक्ष मो.रज्जा राई, चन्द्रिकाप्रसाद गुप्ता, राजकुमार कुर्मी, रमेश कुमार वर्मा, टिकानाथ यादव, जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य कान्ती काँदु, निर्मला हरिजन र कार्यपालिका सदस्य तथा सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद संयोजक रामआँचल धोवी तथा शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत कृष्णाकुमारी भण्डारी लगायत सहभागी रहेको प्रेस संयोजक रविन्द्र घिमिरेले जानकारी दिए ।