नेपालगन्जमा बागेश्वरी कप फुटबलको पहिलो संस्करण शुक्रबारबाट सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका ओलम्पियन सुरेन्द्र हमालले फुटबल रेफ्रि अमर घलेलाई बल हस्तान्तरण गरेर प्रतियोगिता शुभारम्भ गरेका हुन् ।

आयोजक नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सुर्यमणि अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम लगत्तैको उद्घाटन खेलमा सनलाइट युथ क्लब हसनापुरलाई ७–१ गोलको फराकिलो अन्तरले आयोजक रोयलले जितको सुरुवात गरेको छ ।
सुरुवातमै सनलाइटले गरेको गोलको जवाफ फर्काउँदै ३२ मिनेटमा बराबरी गरेको रोयलले त्यसपछि खेललाई आफ्नै पक्षमा राखिरहन सफल भयो । रोयललाई पहिलो गोल फर्काउने विशाल थापा म्यान अफ द म्याच घोषित भए । उनलाई क्लब उपाध्यक्ष माधव अर्यालले म्यान अफ द म्याचको अवार्ड प्रदान गरेको प्रतियोगिता संयोजक दीर्घराज आचार्यले जानकारी दिए ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले उपाधी सहित १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । कोरोना कहरका कारण रोकिएको खेल गतिविधि नेपालगन्ज रंगशालामा झण्डै दुई बर्ष पछि क्लब स्तरीय प्रतियोगिता भएको हो । आज शनिबार धम्बोझी क्लब र मोडेल तथा रेसिङ्ग सहारा र न्यू भगवति बीच खेल हुने आयोजक रोयल नेपालगन्ज फुटबल क्लबले जनाएको छ ।