सतिश निरौला
हाम्रो वरिपरि थुप्रै कथाहरु छन् । सयौं, हजारौं होइन लाखौं, करोडौं कथाहरु छन् । त्यही करोडौं कथाभित्र हाम्रो समाजमा साइकलका कथाहरु पनि छन् । यीनै कथाहरु टिप्ने क्रममा केही समय देखि साइकल गाथा स्तम्भमा साइकलका कथाहरू उन्ने प्रयास गरिरहेको छु,
यो बिचमा केहि गाथा लेखें । गाथा अझै बाँकी नै छन् । दाउराका भारी जङ्गलबाट साइकलमा ल्याउँदै शहरमा बेचेर जिन्दगी चलाउने कथा लेखियो । एउटामात्र खुट्टाबाट प्याडलिङ्ग गर्दै रारा पुगेका साहसी साइक्लिस्टको कथा पनि आयो । आज यस्तै एउटा कथा नेपालगन्जका एक अगुवा ब्यबसायी दम्पतीको समेट्ने प्रयासमा छु । उहाँ हुनुहुन्छ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष भइसकेका, नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य, कपडा ब्यवसायी कृष्ण प्रसाद श्रेष्ठ र उहाँकी जीवन सङ्गिनी शारदाकुमारी श्रेष्ठको ।
५४ बर्ष अघि प्युठानमा जन्मिए हुर्केका श्रेष्ठलाई त्यहाँ रहँदा साइकल चढ्न त परै छोडौ देख्न पनि मुस्किल थियो । कारण, प्युठान पहाडी जिल्ला हो उ बेला त्यहाँ साइकल पुग्ने कुरा नै भएन । उहाँले पहिलोपटक साइकल २०४३ सालमा नेपालगन्ज क्याम्पस पढ्न आएसङ्गै चढ्न शुरु गर्नुभयो । त्यतिबेला साइकल नै प्रमुख सवारी साधन थियो । त्यो उहाँको बाध्यता अनि आवश्यकता दुबै थियो साइकल ।
२०५० सालसम्म उहाँ साइकल मै आवागमन गर्ने गर्नुहुन्थ्यो । तर, त्यसपछिको जीवनशैली अलि फेरियो साइकल छोडेको २५ बर्ष पछि फेरि उहाँ साइकलमा रमाउन थाल्नुभएको छ । २ बर्ष पहिले माउन्टेन वाइक लिनु भएर प्रायः नियमित साइक्लिङ्गमा निस्कनुहुन्छ ।
जसरी रेल, प्लेन र गाडी मोटर अनि मोटरसाइकल सवारी साधन हुन् त्यस्तै साइकल पनि हो । त्यसैले सवारी साधन को कुनै श्रेणी नहुने र आवश्यकताले चढ्ने साधन हुन् भन्ने लाग्छ उहाँ लाई । झन्डै ७÷८ महिना देखि त अहिले उहाँ साइकलमा बिहान आफू मात्र होइन आफ्नी जीवनसाथी शारदा श्रेष्ठ सङ्गै निस्कनुहुन्छ । पहिले पहिले गाडी मोटरमा बजार निस्कने यो जोडी अहिले बिहानै साइक्लिङ्गमा निस्केर गाउँगाउँ नियमित २ घन्टा घुमेर फर्किदा धेरैले उहाँहरुको प्रशंसा गर्ने गरेका छन् । नेपालगन्जकै लागि उहाँहरुको यो जोडी अहिले उदाहरणीय बनेको छ । उहाँहरु दुबै जनाले निकै नै नौलो अनुभूति सङ्गै स्वस्थ्यता आर्जन गरिरहेको सुनाउनु हुन्छ उहाँहरु ।
२० बर्ष भन्दा अगाडि देखि प्रेसर र १० बर्ष देखि मधुमेहको समस्यामा रहनुभएका कृष्ण प्रसाद श्रेष्ठको अवस्था अहिले सामान्य छ । सुगर र प्रेसर दुबै बोर्डर लाइन आएको उहाँले सुनाउनु भयो । साइकलमा बिहानै निस्किँदा आनन्द भनेर अर्कोले अनुभूति गर्न सक्दैनन् । ‘त्यसको लागि त आफैं साइकल चढ्नु पर्ने हुन्छ,’ कृष्णप्रसाद श्रेष्ठको अनुभव हो यो ।
एउटा ब्यस्त ब्यवसायी, ब्यापारीको नेता मात्रै होइन उहाँको परिचय । विकास निर्माणका क्षेत्रमा सामाजिक अभियन्ताका रूपमा उहाँको दैनिकी सधैं नै ब्यस्त रहन्छ । विकासका लागि नागरिक समाजनै गठन गरेर जिल्लाको विकासमा निरन्तर अभियान चलाइरहनु भएको छ । त्यो ब्यस्तता, थकान बेला बेला आउने व्यवसायिक तनावलाई समेत प्रातःकालिन साइक्लिङ्गले उर्जा प्रदान गर्नुका साथै सबै समस्याबाट टाढा पुर्याएको छ ।
साताका सातैदिन उहाँको जोडी फरक फरक ७ गाउँको भ्रमण गर्नुहुन्छ कहिले कोहलपुर त कहिले खजुरा अनि राझा हुँदै राप्तीको पुल, कहिले कता कहिले कता यत्रो बर्ष नेपालगन्जमा सक्रिय जीवन बिताउँदा नघुमेका र नदेखेको गाउँ बस्तीमा अहिले साइकलले पुर्याइरहेकोमा उहाँ गद्गद् हुनुहुन्छ । अर्को गज्जबको अनुभव उहाँले साइक्लिङ्गको यो दुइबर्षको अवधिमा आफ्नो तौल २० केजी घटाइसक्नुभएको छ, हार्दिक सलाम कृष्ण प्रसाद श्रेष्ठ र शारदा कुमारी श्रेष्ठको साइक्लिङ्ग जोडीलाई ।