विद्यालयका नक्कली खेलाडी रोक्ने नयाँ काइदा


कोहलपुरमा तेस्रो मेयर कप तथा १२ औँ राष्ट्रपति कप प्रतियोगिता


राष्ट्रपति कप खेलकुद प्रतियोगितामा खेलाडीका रुपमा नक्कली विद्यार्थीको प्रवेशलाई रोक्न नयाँ तरिका अपनाइने भएको छ । नक्कली विद्यार्थी फेला परेमा जरिवाना गरिने भएको हो ।
कोहलपुर नगरपालिकाले आज शुक्रवारबाट तेस्रो मेयर कप तथा १२ औँ राष्ट्रपति कप प्रतियोगिता सुरु गर्दैछ । विद्यालयहरुले नक्कली विद्यार्थीलाई समावेश गरी पदक जित्ने प्रवृत्ति झाँगिदै गएपछि कोहलपुर नगरपालिकाले यसपटकबाट त्यस्ता विद्यार्थीलाई खेलाडीका रुपमा समावेश गरेको पाइएमा ११ हजार रुपियाँ जरिवाना गर्ने नियम कार्यान्वयनमा ल्याउने भएको छ ।
सामाजिक विकास समितिका संयोजक तथा मेयर तथा राष्ट्रपति कप प्रतियोगिता सञ्चालन र व्यवस्थापन समितिका अध्यक्ष नारायणी वलीले सेना तथा प्रहरी सेवामा प्रवेश गर्ने तयारी गरिरहेकालाई विद्यालयहरुले आफ्ना नक्कली विद्यार्थी बनाएर खेलकुद प्रतियोगितामा समावेश गर्ने गरेको पाइएपछि यसपटकबाट कडा नियम कार्यान्वयन गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार, दैलेख, कालिकोट, सुर्खेत लगायतका जिल्लाका कक्षा १२ पूरा गरिसकेका र नेपालगन्जमा आई प्रशिक्षण गरिहेकाहरु विद्यार्थी बनेर खेल्ने गरेको पाइएपछि नयाँ उपाय खोजिएको हो ।
गत वर्ष विद्यालयहरुले खेलाडीका रुपमा प्रस्तुत गरेका नक्कली विद्यार्थीको रजिष्ट्रेसन गरेको पाइयो । ‘अनुसन्धान गर्दै जाँदा हाजिरी कापीमा समेत नियमित उपस्थिति जनाएको पनि पाइयो, तिनको परीक्षा लिएर मार्कसिटसमेत जारी गरेको पाइयो,’ वलीले भनिन्, ‘प्रमाण बलियो बनाएका थिए । त्यसैले विद्यालयबाट नक्कली विद्यार्थी भएको पत्ता लगाउन नसकेपछि सशस्त्र प्रहरीबलमा सम्पर्क गर्दा ती विद्यार्थीले प्रहरी जवानमा भर्ना हुन आवेदन फाराम भरेको पाइयो । बल्ल नक्कली विद्यार्थी भएको पुष्टि भएपछि विद्यालयले गलत काम गरेको स्वीकार ग¥यो ।’
यस प्रतियोगितामा सहभागी हुन गत पुस २८ गतेसम्म १८ वर्ष ननाघेको हुनुपर्ने नियम बनाइएको छ । गत पुस २८ गते प्रतियोगिता सञ्चालन गर्ने भनिए पनि विविध कारणले स्थगीत गरी फागुन २ गतेबाट सञ्चालन गर्न थालिएको छ । प्रतियोगिता फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । कोहलपुरका ३४ विद्यालयका ६५८ खेलाडी विद्यार्थीको सहभागिता रहने प्रतियोगितामा १५ खेल समावेश गरिएका छन् ।


प्रतियोगिताको व्यवस्थापनसम्बन्धी आयोजना गरिएको बैठकमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले खेलकुद महोत्सवका रुपमा आयोजना गर्न लागिएको बताउँदै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले खेलकुदका क्षेत्रमा लगानी वृद्धि गरिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया