‘गौतम बुद्ध रंगशाला’लाई नेपालगन्जको साथ आर्थिक, भौतिक साझेदारीका लागि समिति


समाचारनेपालगन्ज
धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजकत्वमा चितवनको भरतपुरमा निर्माण सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपालगन्जले साथ दिने भएको छ । फाउण्डेशनको एउटा प्रतिनिधिमण्डलसँग स्थानीय अगुवाहरुको छलफल अन्तरक्रियापछि सहकार्यका लागि समिति समेत गठन भएको हो ।


नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षतामा भएको भेलाले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जिल्ला समिति बाँके गठन गरेको छ ।


संघका अध्यक्ष नन्दलाल वैश्यले अध्यक्षता गरेको भेलामा धुर्मुस–सुन्तली फाउण्डेशनका सचिव पुरुषोत्तम हुमागाईले सात प्रदेश र देशका ७७ वटै जिल्लाको अपनत्व र सहकार्यमा जनस्तरबाटै क्रिकेट रंगशाला बनाउन लागिएको अवधारणा प्रस्तुत गरेका थिए ।


समितिमा संघका अध्यक्ष वैश्य, सहसंयोजक र जुमा स्पोर्टस् क्लबका अध्यक्ष भीम बहादुर रानाभाट सदस्य सचिव छन् । बाँके च्याम्बर अफ कमर्शका सचिव सञ्जय थापा कोषाध्यक्ष रहेको समितिमा हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, बागेश्वरी गुठीका सचिव गोपाल अधिकारी, वडाध्यक्ष बुद्धिसागर सुवेदी, उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, पूर्व राष्ट्रिय क्रिकेट कप्तान एलबी क्षेत्री, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले सदस्य छन् ।

त्यस्तै, उद्योगपति सञ्जय अग्रवाल, अधिवक्ता बसन्त गौतम, मुस्लिम नागरिक समाजका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, पत्रकार झलक गैरे, तुला अधिकारी, टीएस ठकुरी र उद्योग वाणिज्य संघकी उपमहासचिव तारा रोकाय, पूर्व उपमहासचिव रचना श्रेष्ठ, बासका निर्देशक नमस्कार शाह, सिद्धार्थ गु्रप हस्पिटालिटिका निर्देशक केशव न्यौपाने, उद्यमी डिला शाह, लेखनाथ सापकोटा र भुपेन्द्र अधिकारी सदस्य रहेको समितिका सदस्य सचिव भीम बहादुर रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया