धनगढी – कैलाली जिल्ला फुटबल संघले केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज धनगढी रंगशालामा भएको फाईनलमा वैंकर्स क्बल धनगढीलाई पेनाल्टी सुटआउटमा हराउँदै फुटबल संघले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समय बराबरी भएको खेलपछिको पेनाल्टीमा फुटबल संघ ५—४ ले विजयी भयो । उपाधिसँगै फुटबल संघले नगद ५० हजार समेत पाएको छ ।
उपविजेता भएको वैंकर्स क्लबले नगद २५ हजारमा चित्त बुझाएको छ । नैनादेवी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र वोगटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगपालिकाका मेयर नृप ओड रहेका थिए ।
प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको थियो ।