योगिनी कपको उपाधि चन्द्रज्योति युवा क्लबलाई

नेपालगन्ज – अग्रपक्तिका खेलाडी विक्रमसिंह ठकुरीको उत्कृष्ट प्रदर्शनले चन्द्रज्योति युवा क्लब नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । बाँकेको खजुरा–२, गौघाटमा आज भएको फाइनल खेलमा आयोजक योगिनी–११ ‘बी’ टिमलाई ३–१ गोलअन्तरले पराजित गर्दै चन्द्रज्योति युवा क्लबले उपाधि हात पारेको हो ।

पहिलो हाफको नवौं मिनेटमा शिव बस्नेतले गोल गर्दै आयोजक योगिनी–११ ‘बी’ टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको १५ औं मिनेटमा चन्द्रज्योतिका विक्रमसिंह ठकुरीले दुई डिफेन्सबीचबाट बल निकाल्दै सुन्दर गोल गर्दै खेललाई एक÷एक बराबरीमा ल्याए । बराबरी गोलसँगै दुबै टोलीका खेलाडीहरु आक्रमक खेल प्रस्तुत गर्ने क्रममा आयोजक योगिनीका खेलाडीले डी एरियामा ह्यान्ड गर्दा चन्द्रज्योतिले पेनाल्टीको अवसर पायो । पेनाल्टी हान्न आएका विक्रमसिंह ठकुरीले बायाँतिरको बार च्याप्दै प्रहार गरेको बल गोलमा परिणत भएपछि खेलमा चन्द्रज्योतिले अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको ६३ औं मिनेटमा विक्रमसिंह ठकुरीले चिप गर्दै गरेको गोलले उनी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने । आजको ह्याट्रिककर्ता विक्रमसिंह ठकुरी फाइनल खेलको म्यान अफ द म्याच पुरस्कार प्राप्त गर्नसमेत सफल भए ।

आयोजक योगिनी–११ ‘बी’ टिमको थुप्रै प्रहारहरु विपक्षी गोलकिपरले बचाएका थिए । पहिलो हाफ र दोस्रो हाफमा एक÷एक वटा प्रहार विपक्षी टोलीको गोल पोष्टमा लागेर फर्कनु पनि आयोजक टोलीको लागि दुर्भाग्य सबित भयो ।

खेलको ३९ औं मिनेटमा पाएको पेनाल्टीमा योगिनीका रोशन महतराले पोष्ट बाहिर प्रहार गर्दा आयोजक टोली उपविजेतामा सीमित हुन पुग्यो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोली एवं खेल संचालन गर्ने रेफ्रीहरुलाई खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवं प्रमुख अतिथि एकमाया वि.क., राष्ट्रिय खेलाडी तथा एन्फाका पूर्व केन्द्रिय सदस्य रविन्द्रमान श्रेष्ठ, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, सिजी ब्रोअरी नेपाल प्रा.लि. का म्यानेजर उमेश निरौला सहयोगी आवाज (हिभ) नेपालका अध्यक्ष गणेशदत्त खटिकलगायतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेको थिए ।

विजेता चन्द्रज्योति युवा क्लबले नगद रु. ५० हजार हात पार्न सफल भएको छ भने उपविजेता आयोजक योगिनी–११ ‘बी’ ले नगद रु. २५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १० हजार, विधागत रुपमा उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र फरवार्डले समान रुपमा ५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र पुरस्कार गरिएको थियो ।

त्यस्तै खेलको सर्वोत्कृष्ट खेलाडी योगिनी ११ ‘बि’ का याम बहादुर थापा, उदयमान खेलाडी योगिनी–११ ‘ए’ का सुरज थापा क्षेत्री, उत्कृष्ट फारवार्ड योगिनी–११ ‘बी’ का याम बहादुर थापा, उत्कृष्ट मिड–फिल्डर योगिनी–११ ‘बी’का गोपाल थापा, उत्कृष्ट डिफेन्स चन्द्रज्योति युवा क्लबका राम ओली र उत्कृष्ट प्रशिक्षकमा चन्द्रज्योति युवा क्लबका विकास सिंह वि.क घोषित भएका छन् ।


प्रतिक्रिया

प्रतिक्रिया