आयोजक योगिनी–११ ‘बी’ टिम उपाधि नजिक

नेपालगन्ज – आयोजक योगिनी–११ ‘बी’ टिम बाँकेको खजुरा–२, गौघाटमा जारी नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक टोलीले नेपालगन्ज बहुमुखीलाई २–० गोलअन्तरले पाखा लगाउँदै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

पहिलो हाफको चौथौ मिनेटमा योगिनी–११ ‘बी’ टिमका यामबहादुर थापाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । विपक्षी गोलकिपर ठाउँ छोडेर अगाडि बढेको समयमा बललाई उचाई दिएर उनले खाली पोष्टमा गोल गरेका थिए । पहिलो हाफको २३ औं मिनेटमा विपक्षी डिफेन्सले राम्ररी क्लियर गर्न नसकेको बलमा नियन्त्रण गर्दै यामबहादुर थापाले पुनः अर्को गोल थपे ।

पहिलो हाफको ३३ औं मिनेटमा काउण्टरमा अगाडि बढेका एनएमसीका विशाल थापाले विपक्षी दुई डिफेन्डरको बीचबाट प्रहार गरेको बल पोष्टको थोरै माथिबाट बाहिरियो ।

दुबै टोली आक्रमक बनेको दोस्रो हाफमा आयोजक योगिनी–११ ‘बी’ टिमका भुपेन्द्र शाहीले ५९ औं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

दुई गोल गर्नसमेत सफल बनेका आयोजक योगिनी–११ ‘बी’ टिम यामबहादुर थापा म्यान अफ द म्याच घोषित भए । उनलाई नेका महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण सिंह र नेका बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
असोज १५ गते, बुधबारका दिन चन्द्रज्योति युवा क्लब र योङ स्टार राईडर्सबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया