नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका स्थित गौघाटमा भैरहेको प्रथम योगिनी कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज मंगलबारबाट सुरु हुँदैछ । आज पहिलो सेमिफाइनल खेलमा योगिनी–एघार ‘बी’ टिम र नेपालगन्ज बहुमुखी क्याम्पस भिड्दैछन् ।
सोमबारको खेलमा योङ स्टार क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल २÷२ को बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
दोस्रो हाफको ५० औं मिनेटमा अर्जुन वि.क. ले गोल गर्दै योङ स्टारलाई अग्रता दिलाए । योङ स्टारको अग्रता लामो समय टिकेन । एक गोलले पछाडि परेको मोडेल टिमका रोशन बुढामगरले ५३ औं मिनेटमा बराबरी गोल फर्काए ।
खेलको ६५ औं मिनेटमा योङ स्टारका डिफेन्डरले विपक्षी खेलाडीलाई डी एरियामा लडाएपछि पाएको पेनाल्टीमा अतिश वि.क. ले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु¥याए ।
जित नजिकै पुगेको मोडेल टिमलाई दोस्रो हाफको थपिएको अतिरिक्त समयमा हुलमुलमा पाएको बललाई उत्कृष्ट फिनिसिङ गर्दै अर्जुन वि.क. ले गोल गरेपछि दुबै टोली दुई÷दुईको बराबरीमा रोकिए ।
पेनाल्टी सुटआउटमा योङ स्टार राईडर्सले मोडेल टिमलाई ३–० ले पराजित गरेको छ । पेनाल्टीमा योङ स्टार राईडर्सका विशाल सुनार, महेन्द्र बुढा क्षेत्री र शिव वलीले गोल गरे । आजको खेलमा दुई गोल गरेका अर्जुन वि.क. को प्रहार विपक्षी गोलकिपरले पञ्च गर्दै जोगाए । मोडेल टिमका निकेश बुढाको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो भने रोशन बुढामगर र सजिब थापाले प्रहार योङ स्टारका गोलकिपरले रोक्न सफल भए ।
पेनाल्टीमा तीन वटा प्रहार रोकेका योङ स्टारका गोलकिपर सुजन गुरुङ म्यान अफ द म्याच छनौट भए । उनलाई क्रियटिभ इहुडमेण्ट वल्ड प्रालिका मार्केटिङ्ग इन्चार्ज शिव सापकोटा, खजुरा गाउँपालिका, वडा नं. २ सदस्य टोप बहादुर वली र सहयोगी आवाज (हिभ) नेपालका अध्यक्ष गणेश दत्त खटिकले सयुंक्त रुपमा पुरस्कृत गरे ।