सबै विधामा पुरस्कार राशी वृद्धि गर्ने आयोजकको तयारी
नेपालगन्ज – नेपालगन्ज म्याराथन २०१९ को घोषणा भएको छ । आगामी मंसिर ७ गते नेपालगन्ज म्याराथनको पाँचौं संस्करण आयोजना गर्ने आयोजक क्रियटिभ ह्याण्ड्सले घोषणा गरेको हो ।
क्रियटिभ ह्याण्ड्सले शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नाराका साथ आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा आयोजना थालिएको थियो । ‘बिभिन्न सरोकारवालासँगको परामर्शपछि हरेक मंसिर पहिलो हप्ताको शनिबार नेपालगन्ज म्याराथन आयोजना गर्ने निस्कर्षमा हामी पुगेका हौं,’ क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले प्रेस नोटमार्फत आइतवार भनेका छन् ।
ट्राफिक व्यवस्था मिलाउन सहज हुने भएकाले शनिबार दिनलाई रोजिएको दावी आयोजकको छ । नेपालगन्ज म्याराथनको पाँचौं संस्करण भव्य गराउन व्यवस्थापन चुस्त र पुरस्कार राशीमा बृद्धि गर्ने तयारी गरेको जनाएको आयोजकले पुरस्कार राशी भने केहि समयपछि सार्वजनिक गर्ने जनाएको छ । पहिलो संस्करणमा २५ हजार रुपिया पुरस्कार राखिएको नेपालगन्ज म्याराथन गत वर्ष चौथोमा आइपुग्दा ६० हजार पु¥याइएको थियो । ‘नेपालगन्जलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य हो,’ अध्यक्ष ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि यो आयोजनालाई हरेक वर्ष गुणात्मक विकास गर्दै लगिनेछ ।’
आयोजकका अनुसार, यसवर्ष पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ । ‘यस बर्षदेखि ३ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ,’ क्रियटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले भने, ‘यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।’ हरेक वर्ष आयोजनामा विशेषता थप्दै जाने ठकुरीको भनाइ छ । ‘नेपालगन्ज म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने आयोजक टिमको परिकल्पना छ,’ अध्यक्ष ठकुरीले भने ।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता बनेका थिए । महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भएकी थिइन् । आयोजक क्रियटिभ ह्याण्ड्सका अनुसार, राष्ट्रियसँगै जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदै आएको नेपालगन्ज म्याराथनले नेपालगन्ज र कोहलपुरलाई भावनात्मक रुपमा अझै जोड्नका महत्वपूर्ण हुने विश्वास लिइएको अध्यक्ष ठकुरीको भनाइ छ ।