शुरु भयो नेपाल आइस योगिनी कप फुटबल ,एनएमसीको विजयी शुरुवात

आजको पहिलो खेल चन्द्रज्योति युवा क्लब र युथ युनियन क्लबको बीच प्रतिष्पर्धात्मक हुनेछ । भने, युगिनी–एघार ‘बी’ टिम र न्यूँ डाँफे स्पोर्टस क्लबबीच दोस्रो खेलको घम्साघम्सी हुनेछ ।

नेपालगन्ज
खेलकूद गतिविधिमा पर्याय बन्दै गइरहेको खजुरा गाउँपालिका–२ गौघाटस्थित योगिनी माविको खेलमैदानमा फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायाले नेपाल आइस प्रथम योगिनी कप फुटबल प्रतियोगिताको उद्घाटन गरेसँगै खेल शुरु भएको हो ।

शनिवार पहिलो खेलमा नेपालगन्ज बहुमुखी क्याम्पस (एनएमसी) ले विजयी शुरुवात गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा विशाल थापाले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । त्यसअघि खेलको ६० औं मिनेटमा आयोजक योगिनी–एघार ‘ए’ टिमका साजन थापाले दुई विपक्षी रक्षकलाई बिट गर्दै गोलको खाता खोलेका थिए ।
निर्धारित ७० मिनेटको समयसम्म दुबै टोलीले एक–एकको बराबरी खेलेपछि एन्फा रेफ्री तारा शाहीले सिधै ट्राईब्रेकरबाट नतीजा छिनोफानोको लागि संकेत दिए ।

ट्राईब्रेकरमा आयोजक टिमका कमल रावत, रमेश शाही र रोहित खड्काको प्रहार गोलमा परिणत भएको थियो । साजन थापामगर र गौरब थापामगरले पेनाल्टी खेर फालेका थिए । एनएमसीका लागि मनोज ओली, जीवन तामाङ र विशाल थापाले गोल गर्न सफल भए । सन्तोष सोनीको प्रहार योगिनीका गोलकिपरले रोक्न सफल भए । एनएमसीले आयोजक टोलीमाथि ट्राईब्रेकरमा ४–३ को नतीजा निकाल्दै जीत हात पारेको हो ।

शनिवार पहिलो दिनको खेलमा एनएमसीका विशाल थापा म्यान अफ दी म्याच घोषित भएका थिए । उनलाई खजुरा गाउँपलिकाका प्रशासकीय अधिकृत बम बहादुर केसी र भेट्रान खेलाडी सुनिल शाहीले संयुक्त रुपमा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताका संयोजक तरिन्द्र थापाले दिएको जानकारी अनुसार, दोस्रो दिन आज आइतवार दुई वटा खेलहरु हुनेछन् । पहिलो खेल चन्द्रज्योति युवा क्लब र युथ युनियन क्लबको बीच हुनेछ । त्यसैगरी दोस्रो खेल युगिनी–एघार ‘बी’ टिम र न्यूँ डाँफे स्पोर्टस क्लबबीच हुनेछ ।
त्यसअघि शनिवारनै मैत्रीपूर्ण खेलमा पत्रकार महिला फुटबल समूह र उद्यमी महिला फुटबल समूहबीच भएको खेलमा पत्रकार समूह विजयी भएको थियो । प्रतियोगिता शुभारम्भपूर्व महिला टिमबीच मैत्रीपूर्ण खेल भएको हो ।

आयोजक संस्था सहयोगी आवाज (हिप) नेपालका अनुसार, असोज १७ गतेसम्म संचालन हुने योगिनी कप प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार, सर्वोत्कृष्ट खेलाडीले १० हजार, र विधागत रुपमा उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र फरवार्डले समान रुपमा ५ हजार रुपैयाँ, ट्रफी , मेडल, प्रमाणपत्र र पुरस्कार राखिएको छ ।

त्यसअघि, प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि रोकायले योगिनी कप फुटबल प्रतियोगिता गौघाटको मात्र नभै बाँकेवासीको गौरब बनाउन शुभकामना दिए ।
‘फुटबल खेलले युवा पिढीलाई राम्रो काममा लाग्न प्रेरणा प्रदान गर्ने र अन्ततः युवाहरुले खेलेरै देशलाई चिनाउने वातावरण सृजना गर्दछ,’सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्दै रोकायले भने, ‘आपूmलाई र देशलाई चिनाउने खेलले ठूलो भूमिका खेलेको हुन्छ ।’ खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले खजुरालाई खेलकूदले चिनाउँदै जाने बताइन् ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जिल्लामा बढ्दो खेल गतिविधि र त्यसमा पनि फुटबलले लिएको सक्रियतामा सन्तोष व्यक्त गरेका थिए ।

प्रतियोगिताका मुख्य प्रायोजक सिजी ब्रुअरी नेपाल प्रा.लि. का म्यानेजर उमेश निरौलाले खजुरा गाउँपालिका क्षेत्रलाई नै फुटबलमय बनाउन योगिनी कपले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया