अन्तर विद्यालय प्रदेशस्तरीय छात्रा फुटबल
नेपालगन्ज – नेपालगन्जमा जारी अन्तर विद्यालय प्रदेश स्तरीय छात्रा फुटबल प्रतियोगितामा बर्दिया र दाङले अंक बाँडेका छन् । नेपालगन्ज रंगशालामा भएको खेलमा बर्दिया र दाङले दुई÷दुई गोलको बराबरी खेलेका हुन् । सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बर्दियाले बराबरीमा चित्त बुझाउनु परेको छ । दोस्रो खेलमा समेत बराबरी खेल्दा अब बर्दियाको अगाडिको यात्रा मुस्किल बनेको छ ।
बर्दियाले ९ मिनेटमा अग्रता लिएको थियो । सिर्जना थारुले गोल गरेर टीमलाई अग्रता दिलाएकी थिइन् । दाङकी बिनिता खड्काले १७ मिनेटमा गोल गरेर बराबरीमा ल्याइन् । मध्यान्तर अघिको अतिरिक्त समयमा बर्दियाले फेरि अग्रता लिएको थियो । अन्जली थारुले फ्रिकिकबाट उत्कृष्ट गोल गरेकी थिइन् । बर्दियाको दोस्रो अग्रतालाई दाङले खेल सकिन ५ मिनेट बाँकी रहदा बराबरीमा ल्यायो । डीएरिया बाहिर पाएको फ्रिकिकलाई दाङकी बिनिता खड्काले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
बर्दियाबाट नेरा गणेश मावि र दाङबाट फातिम इंग्लिश बोर्डिङ स्कूलले प्रतिनिधित्व गरेका छन् । बर्दियाले यसअघि बाँकेसँग बराबरी खेलेको थियो । अब शुक्रबार हुने बाँके र दाङबीचको खेलले विजेताको टुंगो लगाउने छ । बाँके जिल्ला फुटबल संघले सञ्चालन गरेको प्रदेश ५ स्तरीय क्वीक्स कपमा बाँके, बर्दिया र दाङका स्कूल सहभागी भएका छन् । यहाँबाट विजेता हुने एउटा टीमले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा भाग लिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । प्रदेश ५ को अर्को अरु जिल्लाले बुटवलमा खेलिरहेका छन् । बुटवलबाट पनि एउटा टोली काठमाडौंको प्रतियोगितामा सहभागी हुनेछ ।