नेपालगन्ज – नेपालगन्जमा भैरहेको अन्तर विद्यालय प्रदेश स्तरीय छात्रा फुटबल प्रतियोगिताको बुधबारको खेलमा बाँके र बर्दियाले बराबरी खेलेका छन् । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा बाँकेको जनज्योति मावि र बर्दियाको नेरा गणेश माविबीचको खेल एक÷एक गोलमा टुंगिएको हो । प्रतियोगितामा जनज्योति माविकी मोनिका घर्तिमगर, नेराकी गणेश माविकी सुजिता थारुले मात्र गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।
जिल्ला–जिल्लामा सञ्चालन भइसकेको क्वीक्स कपका विजेताले प्रदेशमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालगन्ज रंगशालामा बाँके, बर्दिया र दाङका विजेताले प्रतिस्पर्धा गर्दैछन् । तीन जिल्लाको विजेताले राष्ट्रिय प्रतियोगिता खेल्न पाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । क्वीक्स कपका विजेता छात्रहरुले दाङमा प्रतिस्पर्धा गरिरहेका छन् । छात्राको केही जिल्लाको खेल बुटवलमा भइरहेको छ ।
क्वीक्स कप प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगिताको उद्घाटन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त शर्माले गरेका थिए । उद्घाटनमा एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, बाँकेका उपाध्यक्ष गोविन्द श्रेष्ठ, प्रदेश ५ का महिला टीमका प्रशिक्षक युवराज शाही, क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी, नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापालगायतको उपस्थिति रहेको थियो ।