नेपालगन्ज – बुटवलमा बिहीबारबाट सुरु भएको झरना कप फुटबलको ३३औं संस्करणमा नेपालगन्ज–११ ले शुक्रबार २ का विरुद्ध ५ गोलले विजयी सुरुवात गरेको छ । सिर्जना एसटी बुटवल क्लबलाई २ का विरुद्ध ५ गोल गर्दै नेपालगन्ज–११ ले क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाका अनुसार, आफ्नो टिमलाई जिताउन महत्वपूर्ण योगदान दिने बिक्रम सिंह ठकुरी म्यान अफ द म्याच भएका छन् ।
नकआउटका आधारमा विभिन्न १६ वटा टिम बीचको प्रतिस्पर्धामा नेपालगन्ज–११ अध्यक्ष घनश्याम थापाको नेतृत्वमा उपाध्यक्ष समशेरमान महतरा, सचिवमा गान्धी हमाल, प्रशिक्षक जनक केसी सहितको टोली बुटवल पुगेको हो । १८ गते सम्म चल्ने प्रतियोगितामा उपाधी विजेताले ३ लाख नगद सहित शिल्ड प्राप्त गर्नेछन् ।
नेपालगन्ज–११ ले यसअघि ३ लाख नगद सहितको गौरीगंगा, ३ लाख नगद पुरस्कार सहितकै गोदावरी मेयर कप हात पारिसकेको छ भने २ लाख नगद सहित पिएफए अत्तरिया दोस्रो उपाधी जित्न सफल भएको छ ।