योगिनी कप फुटबलका लागि नेपाल आइसले मुख्य प्रायोजक बन्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपालगन्ज – बाँकेको खजुरा–२ गौघाट स्थित योगिनी उच्च माविको खेल मैदानमा आगामी असोज ३ गतेबाट हुने योगिनी कप फुटबलका लागि तयारी अन्तिममा पुगेको छ ।
सहयोग आवाज नेपालको आयोजनामा हुने प्रतियोगिताको सफलताका लागि खजुरावासी र विदेशमा रहेका युवाहरुले सहयोग गरिरहेकोसंयोजक तरिन्द्र बहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा गर्न लागिएको योगिनी कप प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ वटा फुटबल क्लबले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजकले जनाएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते देखि शुरु हुने प्रतियोगिता ७ गते सम्म चल्नेछ ।
अनुमानित ३ लाख ५० हजार बजेट रहेको प्रतियोगितामा प्रथम हुने क्लबले ५० हजार, दोस्रो हुनेले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षक जनही ५ हजार प्रदान गर्ने प्रतियोगिता संयोजक थापाले जानकारी दिए ।
बिहीबार आयोजना बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघका सदस्य एवम प्रशिक्षक सानु तामाङले योगिनी कप फुटबलले करियर बनाउन चाहने युवाहरुका लागि थप हौसला प्रदान गरेको बताए ।
‘फुटबल पछिल्लो समय संसारभर लोकप्रिय खेलकुदको रुपमा अगाडी बढेको छ । विगतको इतिहास हेर्ने हो भने खजुरा क्षेत्र फुटबलमा सक्रिय थियो । यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका थिए, प्रशिक्षक तामाङले भने, ‘पछिल्ला समय नयाँ पुस्ताले भने त्यो सफलता पाउन सकेका छैनन् ।
योगिनी कपले खजुरा क्षेत्रमा घट्दै गएको फुटबलको लोकप्रियता बढाउने र कुलतमा लागेका युवालाई खेल मार्फत समाज विकासमा लाग्न सहयोग गर्ने स्थानीयवासी समेत रहेका पत्रकार कमल खत्रीको भनाइ छ ।
आयोजकले बाँकेको पश्चिम क्षेत्रमा हुन लागेको योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आइस वियरले मुख्य प्रायोजन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी दिंदै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने विश्वास गरेको छ ।
बिहिबार नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा सिजी ब्रुअरी (नेपाल) प्रा.लि. र आयोजक सहयोग आवाज नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापा र सिजी ब्रुअरी (नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बिहीबारको सम्झौता पश्चात प्रतियोगिताको नाम नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ । सिजी ब्रुअरी (नेपाल) प्रा.लि.का म्यानेजर उमेश निरौलाले सिजी ब्रुअरी खेलकुदको विकासका लागि सधै अग्रसर भएर लागेको बताए । सिजीसँगको सहकार्यले खजुरा क्षेत्रबाट राष्ट्रिय स्तरका प्रतिभा जन्मने आशा गरेको निरौलाले पत्रकार सम्मेलनमा बताए ।