वलीको नेतृत्वमा प्रदेश बुद्धिचाल संघ

नेपालगन्ज- बाँके जिल्ला बुद्धिचाल संघका अध्यक्ष धनराम वलीको संयोजकत्वमा ९ सदस्यीय ५ नं. प्रदेश बुद्धिचाल संघको गठन भएको छ । नेपाल बुद्धिचाल संघको आइतवार काठमाठौंमा बसेको केन्द्रिय समितिको बैठकले वलीलाई प्रदेशको नेतृत्व दिंदै संघको प्रदेश समिति गठन गरेको हो ।

संघको को प्रदेश समितिमा पशुपति नाथ योगी (बाँके), प्रतिमा महत क्षेत्री (बाँके), किरण नापित (बर्दिया), रिता पोखरेल (बर्दिया), विजय गुरुङ (रुपन्देही), चन्द्रमणी गैरे (पाल्पा), श्याम विष्ट (प्युठान) र दिनेश थापा (दाङ) रहेका छन् ।

‘आगामी दिनमा ५ नं. प्रदेशका अन्य जिल्लाका साथीहरुको सहयोग प्राप्त भएमा बाँकेमा भएका विकास र उपलब्धीहरु झै ५ नं. प्रदेशका अन्य ११ वटा जिल्लामा विभिन्न गतिविधिहरु मार्फत बुद्धिचाल खेलको व्यापक विकास एवं उपलब्धीहरु स्थापित गर्ने, गराउने योजना बनाएको छु,’ प्रदेशको नेतृत्व सम्हालेपछि संयोजक वलीले भने ।

बाँकेमा वलीको नेतृत्वमा पछिल्लो एक बर्ष चेस खेलमा व्यापक विकास र उपलब्धी हासिक गर्दै बुद्धिचाल खेलको क्षेत्रलाई फराकिलो पार्दै गएको पाइन्छ । विगतमा जिल्ला भित्र केहि सिमित खेलाडीहरु मात्र रहेको, बुद्धिचाल खेललाई बाँके जिल्लाका विभिन्न स्थानहरुका घरसारमा समय कटाउने मेसोको रुपमा खेलिदै आएको थियो ।
‘यो वर्षमात्रै बाँकेमा ७ वटा बुद्धिचाल खेल प्रशिक्षण कार्यक्रम भएका छन्’, निरन्तर सक्रिय पशुपतिनाथ योगीले दैनिक नेपालगन्जसँग भने, ‘औपचारिक प्रतियोगिताहरु मात्रै पनि २५ वटा भै सकेका छन् ।’ योगीका अनुसार, अनौपचारिक खेलहरु अनगिन्ती रहेको, प्याब्सनसंगको सहकार्यमा नियमित प्रतियोगिता भइरहेका छन् ।

‘विभिन्न स्कुलहरुको क्यालेण्डरमा चेस प्रतियोगिता समावेश गरी जिल्लामा ऐतिहासिक रुपले प्रथम पटक गरी हाल सम्म ६ वटा महिला तर्फको बुद्धिचाल प्रतियोगिता सम्पन्न गरिएको छ,’ योगीले भने ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको प्रदेश छनौट प्रतियोगितामा पुरुष तर्फका ५ कोटाहरु मध्ये स्वर्ण र कास्य पदक सहित ३ कोटा र महिला तर्फको ३ कोटा मध्य रजत र कास्य पदक सहित २ कोटा गरी कुल ८ कोटा मध्ये बाँकेबाट ५ कोटा प्राप्त गरी आठौं राष्ट्रिय खेलकुदमा २ जना राष्ट्रिय स्तरका महिला बुद्धिचाल खेलाडी तयार भएका छन् ।

‘५ नं. प्रदेश स्तरीय प्रथम मुख्यमुन्त्री कप रनिङ्ग शिल्ड प्रतियोगिता २०७६ मा गोल्ड मेडल प्राप्त गरि बाँकेबाट चेसमा प्रदेश च्याम्पियन, विभिन्न स्कुलहरुमा इन्टर स्कुल कम्पीटिसनहरुको विकास, स्वीस म्यानेजरबाट चेस प्रतियोगिता संचालन गराउन सक्षम व्यक्ति तयार पारिएको वलीकै नेतृत्वमा हो,’ प्रशिक्षक योगीले भने । उनका अनुसार, भारतको दिल्लीमा हुन गैरहेको पश्चिम एसियाली युथ एण्ड जुनियर च्याम्पीएनसिप प्रतियोगितामा अण्डर–१० तर्फ कमल पोखरी स्कुल, राँझाका कक्षा ४ मा अध्ययनरत बर्ष १० का अनपुजंग शाह समग्र देशभरबाटै छनोट पर्न सफल भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया