विदा गरिए खेलकुद अध्यक्ष

जाँदाजाँदै अध्यक्ष ओलीको आग्रह, ‘कार्यविधि कार्यान्वयनमा ल्याउनुस्’

नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का निवर्तमान अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकुदका लागि बनेका खेल पुर्वाधार सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । समितिले कार्यकाल सकिएर विदा लिएका अध्यक्ष ओलीलाई विहीवार गरेको औपचारिक विदाईमा उनले आफ्नो कार्यकालको अन्तिम बैठकले पारित गरेको कार्यविधि कार्यान्वयनमा ल्याएर खेल पुर्वाधार सञ्चालनमा ल्याउन आग्रह गरे ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का कार्यबाहक अध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकाल समेत डेढसातामैं सकिन लागेको स्मरण गर्दै फरक विचारबीच पनि ओली कार्यकाल उत्कृष्ठ र ऐतिहासिक भएको बताए । कार्यक्रमको अध्यक्षता गरेका थापाले खेलकुदमा राजनीति भन्दा खेलनीतिले काम गर्ने बताए । अध्यक्ष ओलीको साउन १२ गते कार्यकाल सकिएको थियो भने उपाध्यक्ष थापाको आगामी भदौ ३ गते सकिंदैछ ।

क्षेत्रीय निर्देशक जयन्त शर्मा, खेलकुद कर्मचारी संघका क्षेत्रीय अध्यक्ष भुपेन्द्र पुनमगर, लेखा अधिकृत मीन बहादुर जीसी लगायतले नेतृत्वको सक्रियता आठौंको सफलता र प्रदेशले पौने एक अबै बढीको नयाँ पुर्वाधार पाएको भन्दै पछिल्लो कार्यसमितिको प्रशंसा गरे । ‘अबको नेतृत्व नआउन्जेल कर्मचारीले जिम्मेवार भएर यी पुर्वाधारको संरक्षण र उपयोग गर्नुपर्ने जिम्मेवारी आइपुगेको छ,’ क्षेत्रीय निर्देशक शर्माले भने ।
ओलीको विदाईसँगै विदाईको पर्खाईमा रहेका कार्यबाहक अध्यक्ष थापाको कार्यकाल सकिएपछि प्रदेश खेलकुदमा दुई जना सदस्यको मात्र कार्यकाल रहने बताइएको छ । नयाँ ऐन ल्याएरमात्र नियुक्तिको सम्भावना रहेकाले केही समय समिति बहालीको सम्भावना नरहेको हो । पदाधिकारी बहाल नभएसम्म कर्मचारीले सम्पुर्ण जिम्मेवारी निर्वाह गर्नेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया