नेपालगन्ज
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका लागि खोखो टोली बुधबार बर्दियाको भुरीगाउँ आउँने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसारर, टोलीमा पुरुष/महिलातर्फ समान ३५–३५ खेलाडी सहभागी छन् । टोलीलाई ४ प्रशिक्षकले प्रशिक्षण दिने छन् । अन्तिममा समान १५–१५ पुरुष/महिला खेलाडी सागका लागि छनोट गरिने छ । यसै वर्ष सम्पन्न आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको खो खो कबर्ड हलमा साग छनोट बन्द प्रशिक्षणका आयोजना गर्न लागिएको हो ।
टोलीलाई मंगलवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई अर्जुनदृष्टिमा राखेको बताएका छन् ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदलगायत अन्य समसामयिक विषयहरुमा मंगलवार गरिएको एउटा कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘मेरो पहिलो प्राथमिकता साग हो । यसैलाई अर्जुनदृष्टिमा राखेर अगाडि बढिरहेको छु ।’
सदस्य–सिलवालले सागको तीनपटक मिति सरिसकेको दृष्टान्त अघिसार्दै भने, ‘अब साग सर्नु हुँदैन, सरे २० वर्षपछि धकेलिन्छ । राष्ट्रको गौरव र प्रतिष्ठासंग जोडिएकाले साग निर्धा्रित समयमा गर्नु पर्छ ।’
सदस्य–सचिव सिलवालले सागका लागि भौतिक संरचना पूरा गर्ने अभियानमा रहेको बताउदै आफ्नो कार्यकालमा खेल क्षेत्र ‘सिस्टम’ मा राख्ने बताए ।