पूर्वाधार संरक्षणका लागि कार्यविधि
नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण गरिएका ८५ करोड लागतका खेल पूर्वाधारको संरक्षण र उपयोगका लागि कार्यविधि बनाइएको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को शुक्रवार नेपालगन्जमा बसेको बोर्ड बैठकले क्षेत्रीय निर्देशक जयन्त शर्माको नेतृत्वमा तयार भएको मस्यौदालाई अन्तिम रुप दिंदै कार्यविधि पारित गरेको हो । ‘अब आउने नेतृत्वले कार्यविधिका आधारमा पूर्वाधारको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउनेछ,’ आफ्नो चार वर्षे कार्यकालको अन्तिम बोर्ड बैठकपछि प्रदेश अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘खासगरि, बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा आठौंका क्रममा निर्माण भएका ८५ करोड बढी लागतका पूर्वाधारको संरक्षण र उपयोग कसरी गर्ने भन्ने कुराको सुनिश्चितताका लागि कार्यविधि बनाइएको हो ।’
ओलीको नेतृत्वमा २०७२ साउन १२ गते साविकको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति गठन भएको थियो । संघीयतामा जिल्ला बाढिएपछि प्रदेश ५ को नेतृत्व सम्हालेका वलीले आठौंको स्थानीय कमाण्ड सम्हाल्ने ऐतिहासिक जिम्मेवारी पाएका थिए । उनीसँगै बोर्ड सदस्य रिता कोइराला, चन्द्रमणि गैरे, बसन्त जीआर र सरिता श्रीसको पनि कार्यकाल भोलि आइतवारबाट सकिंदैछ । उपाध्यक्ष नरेन्द्र थापा, उमा अधिकारी, अनिल श्रेष्ठ र किरण नेपालको कार्यकाल बाँकीनै रहेकाले बोर्ड सक्रियनै रहने अध्यक्ष ओलीले जानकारी दिए । खेलकुदका प्रदेश प्रमुख विष्णु शर्मा सदस्य सचिवका रुपमा रहेका छन् ।
शुक्रवार प्रदेश अध्यक्ष ओलीको अध्यक्षमा समिक्षात्मक बैठक बसेको हो । बैठकले चार वर्षे कार्यकालको समीक्षा गर्दै सहयोगी सबैलाई आभार व्यक्त गर्ने निर्णय गरेको अध्यक्ष ओलीले जानकारी दिए ।
ओलीले आफ्नो नेतृत्वको बोर्डले गरेको कामलाई अभिलेखिकरण गर्दै प्रदेश समितिले स्मारिका प्रकाशन गरेको जानकारी दिंदै आठौंका सबै सहयोगीलाई धन्यवादका लागि आज आयोजना गरिएको समीक्षात्मक कार्यक्रममा त्यसको विमोचन गरिने बताए ।