आइसिसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको हो । जितसंगै नेपालले २ खेलबाट २ अंक जोडेको छ । र, नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २१ बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए ।
योसँगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।
यसअघि मंगलबार कतारविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।
बुधबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल खेल्न बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गरेको छ ।
यस्तै नेपालका लागि विनोद भण्डारीले अविजित १३ तथा प्रदिप ऐरीले १२ रन बनाए । मलेसियाका लागि मुहमद स्याहदादले ३ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए भने विनोद भण्डारीले नटआउट १३ रन र शरद भेषवाकरले नटआउट ३ रन जोडे ।
त्यसअघि वर्षाका ९ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन जोड्यो ।
मलेसियाका लागि सएद अजिजले सबैभन्दा बढी ३० रन जोडे । उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । विरनदिप सिंहले १६ बलमा २१ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए । मलेसियाका दुवै ओपनरलाई आउट गरेका सोमपालले २ ओभरमा २३ रन दिए । १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।