कैलालीको अत्तरियामा सञ्चालित गोदावरी राजधानी कप २०७६ मा नेपालगन्ज–११ ले शक्तिशाली टिम सुदुरपश्चिम ११ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । नेपालगन्ज–११ युथ क्लबका अध्यक्ष घनश्याम थापाको नेतृत्वमा प्रतिस्पर्धाका लागि गएको टिमले बिहीबार भएको खेलमा सुदूरपश्चिम ११ लाई सडेनडेथमा पराजित गर्दै सेमिफाइनलमा जान सफल भएको हो ।
‘यसले हामीलाई उपाधी नजिक पुर्याएको छ’, नेपालगन्ज ११ का प्रशिक्षक जनक केसीले सशक्त प्रदर्शनको श्रेय खेलाडीहरुलाई दिंदै दैनिक नेपालगन्जसँग भने, ‘यसले देशभरी नै चर्चा कमाएको सुदुरपश्चिम ११ लाई पराजित गर्ने नेपालगन्ज ११ बारे चर्चा ह्वात्तै बढाएको छ ।’
चार लाख नगद सहितको उपाधीका लागि देशभरीका टिम भिडिरहेका छन् । पिएफए स्पोर्टस् क्लब अत्तरियाले आयोजना गरेको गोदावरी राजधानी कप खुल्ला प्रतियोगितामा उपविजेताका लागि २ लाख नगद सहित शिल्डको व्यवस्था छ । बिहीबारको खेलमा नेपालगन्ज ११ का प्रितम खड्का म्यान अफ द म्याच भए । उनी नेपालगन्ज ११ किपर हुन् । सडेन थेनका क्रममा नेपालगन्ज ११ ले ७ र सदूरपश्चिमले ६ गोल गरेका थिए ।