नेपालगन्जमा एक लाख पुरस्कार राशीको वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि द गु्रप अफ १६ युथ क्लबले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरु बीच पहिलो पटक यति ठूलो धनराशीको वडा स्तरीय क्रिकेट गर्न लागेको हो ।
सोमबार तयारी बारे जानकारी दिन क्लबले गरेको पत्रकार सम्मेलनमा आयोजक द गु्रप अफ १६ युथ क्लबले नगरभित्रका युवा प्रतिभा पहिचानका लागि यसखालको प्रतियोगिता आयोजना गरिएको जानकारी दिंदै प्रतियोगिताको भव्यताका लागि हरसम्भव प्रयास गरिएको जनाएको छ । उपाधी सहित रु १ लाख नगद पुरस्कार पाउने विजेताले विभिन्न वडासँग लिग चरणदेखि नै प्रतिस्पर्धा गर्नुपर्नेछ ।
उपविजेताका ५० हजार पुरस्कार राशी राखेको आयोजकले म्यान अफ द सिरिजका लागि बिबि साइकलका तर्फबाट स्पोर्टस् गेयर साइकल उपलब्ध गराउने छ । वेष्ट ब्याट्सम्यान, वेष्ट बलर, एमरजिङ प्यलेयर र वेष्ट फिल्डर समेत पुरस्कृत हुने व्यवस्था मिलाएको आयोजकले वडाध्यक्षको कमाण्डमा प्रत्येक वडाले टिम उतार्ने जनाएको छ ।
‘वडामा रहेको उत्कृष्ट खेलाडीहरुको पहिचान गरी जिल्ला टिम छनोट गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ’, प्रतियोगिता संयोजक तरुण बज्राचार्यले आयोजनाबारे जानकारी दिंदै भने, ‘छनोट भएका टिमलाई नगर स्तरीय बजेट मार्फत जिल्ला क्रिकेट संघ बाँकेसँग समन्वय गरी तालिम तथा वृत्ति विकासका लागि सहयोग गरिनेछ ।’
व्यवसायिक क्रिकेटको प्रवद्र्धन लक्ष्य राखेको आयोजकले आयोजनाका लागि वडा नं. १०, ११ र १२ ले आर्थिक सहयोग गरेको र विभिन्न प्रयोजक मार्फत खर्च जुटाएको जनाएको छ ।
प्रतियोगिता अवधीभर ३ सय ६८ जना खेलाडी र अफिसियल प्रत्यक्ष सहभागी रहने प्रतियोगितामा २३ वटा वडा दुई समूहबाट अलगअलग प्रतिस्पर्धा गरी पुल वीनर बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।