सधैजसो व्यवसायमा व्यस्त रहने नेपालगन्जका व्यवसायीहरु फुटसलमा रमाउन थालेका छन् । जुमा स्पोर्टस् क्लबले रात्रीकालिन उमेर समूह फुटसल प्रतियोगिता आयोजना गरेपछि व्यवसायीहरुले खेलमैदानमा रमाउने अवसर पाएका हुन् ।
नेपालगन्जमा साँझ आयोजना हुने फुटसलमा यहाँका उल्लेख्य व्यवसायीहरुको सहभागिता हुने गरेको छ । ‘साँझ प्रतियोगिता खेल्न र आफुले सपोर्ट गर्ने टिमका पक्षमा हुटिङ गर्न व्यवसायीहरु फुटसल पुग्ने गर्नुभएको छ’, आयोजक जुमा स्पोर्टस क्लबका अध्यक्ष भीम बहादुर रानाभाटले भने ।
आठ वटा टिम सहभागी रहेको फुटसल प्रतियोगितामा दैनिक दुई वटा खेल हुने गरेका छन् । आइतबार भएको प्रतियोगितामा श्याम सुन्दर अधिकारी र भीम बहादुर रानाभाट नेतृत्वको टिम विजयी भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा दीर्घराज आचार्यको टिमलाई ५ गोलले हराउँदै श्याम सुन्दर अधिकारीको टिम विजयी भएको हो । अधिकारीको टिमले ८ र आचार्यको टिमले ३ गोल गरेको थियो । अधिकारीको टिमका लागि कर्ण थापाले ५, जंगबहादुर थापाले ३ गोल गरेका थिए भने आचार्यको टिमका लागि सुर्यमणि अधिकारी, मोहन थापा र कैलाश थापाले १/१ गोल गरे ।
प्रतियोगिता दोस्रो खेलमा भीम बहादुर रानाभाट नेतृत्वको टिम विजयी भएको छ ।
अन्तराम अर्यालको टिमलाई २ गोलले पराजित गर्दै रानाभाटको टिम विजयी भएको हो । रानाभाटको टिमका लागि सन्तोष बजगाई र प्रकाश शर्मा २/२ गोल गरेका थिए । अर्याल नेतृत्वको टिमकका लागि शम्भु सापकोटा र राजकुमार विकले १/१ गोल गरेका थिए ।