नेपालगन्जमा पहिलो पटक भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । जुमा स्पोर्टस् क्लबले विभिन्न उमेर समूह बीच भेट्रान फुटसलको आयोजना गर्ने भएको हो । आगामी शनिबारदेखि जेठ २५ गतेसम्म दैनिक दुई वटा खेल हुने प्रतियोगिताका लागि विभिन्न चार वटा समूह तयार गरिएको छ । आयोजनाबारे जानकारी दिन जुमा स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार क्लब अध्यक्ष भीम बहादुर रानाभाटले खेलको विकासमा निजी क्षेत्रको आबद्धतालाई बलियो बनाउँदै लैजान भेट्रान फुटसल प्रतियोगिता गर्न लागिएको बताए ।
व्यवसायिक काम सकेर रात्रीकालीन समयको सदुपयोग गर्दै हुने फुटसलले मनोरञ्जनका साथै खेल प्रतिको आकर्षण बढाउने विश्वास आयोजकको छ । ‘छरिएर बसेका व्यवसायीहरुलाई एक ठाउँमा ल्याएर विभिन्न पेशाकर्मी र समुदायका अगुवाहरु बीच एउटै छात्रा भित्र खेलका माध्यमले जोड्ने प्रयास हो’, प्रतियोगिता संयोजक समेत रहेका क्लब उपाध्यक्ष दीर्घराज आचार्यले पत्रकारहरुसँग भने, ‘यसले समग्र खेलकुदको विकासमा निजी क्षेत्रको सहभागिता र आकर्षण बढाउने छ ।’
जुमा स्पोर्टस् क्बलका सचिव विष्णु श्रेष्ठका अनुसार, प्रथम हुनेलाई २१ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड प्रदान गरिने प्रतियोगितामा उपविजेताले ११ हजार १ सय ११, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई प्रतिव्यक्ति २ हजार १ सय ११ नगद सम्मान गरिनेछ । ८ जनाको एउटा टिम हुने भेट्रान फुटसलका लागि सबै खेलाडी छनोट गरिसकिएको आयोजकले जानकारी दिएका छन् ।