नेपालगन्ज रंगशालाका लागि सेन्थेटिक ट्रयाक बनाउन सात करोड बजेट माग भएको छ । खेलकुद विकास परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मासँग भेटघाट गरी आगामी आर्थिक बर्षकै बजेटबाट नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक बनाउन माग गरेका हुन् ।
आठौं राष्ट्रिय खेलकुद आयोजनाकै बेला नेपालगन्ज रंगशाला पुनर्निर्माणकै क्रममा राष्ट्रिय खेलकुद परिषद्ले रंगशालामा ट्रयाक एण्ड फिल्डको डिजाइन गर्ने सेन्थेटिक ट्रयाक बन्ने प्रतिबद्धता जनाएको थियो । तर, योजना कार्यान्वयनका क्रममा नेपालगन्जका लागि भनिएको बजेट दाङ्गको बेलझुण्डीमा लगाइएको थियो ।
‘नेपालगन्ज रंगशालाका लागि सेन्थेटिक ट्रयाक अपरिहार्य संरचना हो भन्ने कुरामा राखेप प्रष्ट छ’, अध्यक्ष ओलीले राखेप सदस्य सचिव केशव कुमार विष्टले सेन्थेटिक ट्रयाकका लागि निरन्तर लबिङ्ग गरिरहेको जानकारी दिंदै भने, ‘मन्त्रीजी सँगको भेटघाट पनि सकारात्मक छ ।’ अध्यक्ष ओलीले मन्त्री विश्वकर्माबाट बजेटका लागि सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिंदै भने, ‘हामीलाई विश्वास छ सरकारले आगामी आर्थिक बर्षको बजेटमा नेपालगन्ज रंगशालाका सेन्थेटिक ट्रयाकका लागि सात करोड रुपैयाँ विनियोजन गर्नेछ ।’
प्रादेशिक खेलकुद परिषद्ले आठौंका लागि निर्माण गरिएका खेल पूर्वाधारहरुको पूर्णता दिन आवश्यक बजेटका लागि रकमान्तर गर्न राष्ट्रिय खेलकुद परिषद् लागि परेको जानकारी दिए ।