‘दृढ संकल्पको दृष्टान्त’

दिपेश आचार्य

२०७६ लाई सुवर्ण कालका रुपमा अविस्मरणीय बनाउने राखेप सदस्य सचिव विष्टको घोषणा
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले समयमै आठौं राष्ट्रिय खेलकुदको आयोजना दृढ संकल्पको दृष्टान्त भएको बताएका छन् ।


बिहीबार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राखेप सदस्य सचिव विष्टले भने, ‘सीमित बजेट र साधनस्रोतको अभावका बावजुद आठौंको आयोजना गर्न सक्नुले बलियो इच्छाशक्ति, दृढ संकल्प र कर्तव्यनिष्ट हुने हो भने कुनै पनि चुनौतिको सामना गर्न सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गरिरहेका छौं ।’


घोषणाको दुई बर्षभित्रै आठौंको आयोजना धेरैले असम्भव मानिरहेका बेला गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका सदस्य सचिव विष्टले आफ्नो अठोट पूरा भएकोमा उत्साहित हुँदै भन्दै थिए, ‘एउटै कार्यकालमा दुई वटा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सुनौलो अवसर हामीलाई प्राप्त भएकोमा थप खुशीको अनुभूति हामीलाई भैरहेको छ ।’
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नु भएकी राष्ट्रपति विद्यादेवि भण्डारी नै आठौंको समुद्घाटन पनि गर्ने अवसर जुटेपछि सदस्य सचिव विष्टले यो पनि आफैंमा एउटा विशिष्ट अवसर भएको भन्दै आफुलाई यसले अझ बढी उत्साहित र गौरवान्वित बनाएको धारणा राखे ।


‘आज खेलकुद समुदाय नै अत्यन्त गौरवान्वित छ’, सदस्य सचिव विष्टले आफ्नो भनाइ राख्दै प्रत्येक दुई÷दुई बर्षमा आयोजना गरिनु पर्ने राष्ट्रिय खेलकुद विगत ३३ बर्षयता कहिल्यै नियमित हुन नसकेको सन्दर्भ औंल्याउँदै भने, ‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ मा पूर्वाञ्चलमा सफल आयोजना भए पश्चात दुई बर्षकै अन्तरालमा प्रदेश ५ को ऐतिहासिक सहर नेपालगन्जलाई केन्द्र मानेर विभिन्न जिल्ला र स्थानहरुमा ३५ वटा खेल सञ्चालन भैरहेको छ ।


खेलकुद विकासको राष्ट्रिय कमाण्ड सम्हालेका राखेप सदस्य सचिव विष्टले २०७५ साल खेलकुदका लागि स्वर्णकाल बनाउने उद्घोष गरेको स्मरण गर्दै नयाँ बर्षको शुभारम्भमा भने, ‘२०७६ साललाई अझ विवाद रहित एकताबद्ध, सम्मानित संस्था र समुदायको रुपमा पूर्णत रुपान्तरण गर्दै अझै सुवर्णकालको रुपमा अविस्मरणीय बनाउने छौं ।’ उनले आठौंलाई आगामी २०७६ मंसिरमा नेपालमा आयोजना हुने साग गेम्समा नेपालको टिममा सहभागी हुने र नेपालको झण्डा फहराउने प्रतिभाशाली खेलाडीहरुको छनोटका रुपमा पनि चर्चा गरे । ‘आगामी सागमा नेपालले इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्ने अठोट लिएका छौं’, सदस्य सचिव विष्टले भने, ‘यो अठोट पूरा गरी छाड्नेछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया