हक्कीमा प्रदेश ५ को अग्रता

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा प्रदेश ५ ले निरन्तर अग्रता लिइरहेको छ । प्रदेश ५ शनिबारको प्रतिस्पर्धाबाट सुदूरपश्चिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो ।

 
‘समूह ‘बी’ लिगमा प्रदेश ५ ले अग्रता लिएको छ’, हक्की प्रतियोगिताका टिम लिडर रञ्जन थापाले रोमाञ्चक प्रतिस्पर्धाबारे दैनिक नेपालगन्जसँग कुरा गर्दै भने, ‘आफ्नो समूहबाट सबै खेलमा जित हासिल गर्दै अग्रता लिइरहेको हो ।’ थापाका अनुसार, समूह ए बाट आज आइतबार हुने प्रतियोगिताबाट सेना र प्रहरी बीचको स्पर्धाले समूह विजेताको टुङ्गो लगाउने छ । प्रदेश ५ सुदूरपश्चिमलाई २–१ गोलले पराजित गर्दै समूह विजेता बन्यो । विजयी टिमका लागि शशि दर्लामी र मनीष गुरुङले गोल गरे ।

 
पुरुषमै प्रदेश १ र कर्णालीले १–१ गोलको बराबरी खेले । ५० औं मिनेटमा सुशान्त राउतले गोल गर्दै कर्णालीलाई १–० को अग्रता दिलाएका थिए । प्रदेश १ का सञ्जय राजवंशीले ५४ मिनेटमा बराबरी गोल फर्काए । आर्मीले प्रदेश ३ लाई ८–० को फराकिलो गोलअन्तरले पन्छायो । आर्मीका प्रदीप राजवंशीले ४ तथा दिपेन्द्र ऐर, रोशन चौधरी, रन्जित राउत र देवसिंह धामीले १–१ गोल गरे । यो खेलसँगै कर्णाली घर फर्किएको छ ।

 
खजुरामा भैरहेको महिला हक्कीमा आर्मीले जितका साथ यात्रा प्रारम्भ गरेको छ । प्रदेश ३ विरुद्धको खेलमा आर्मी ९–० ले सहजै विजयी भयो । आर्मीको जितमा सीतामाया बलले ह्याट्रिक गरिन् । सीता चौधरी र पिंकी सिन्जालीले २–२ तथा सरिता मगर र ईश्वरी चुन्नी मगरले १–१ गोल थपे ।

 
‘हाम्रो जितलाई क्रमशः बलियो सम्भावना देखा परिरहेको छ’, प्रदेश ५ का टिम म्यानेजर अशोक कुमार श्रेष्ठले भने, ‘हाम्रा टिम प्रशिक्षक निजामुद्दिन सिद्दिकी सहितको निरन्तरको प्रशिक्षणको परिणाम मैदानमा देखा परेको छ ।’ उनले जितमा आशावादी मात्रै होइन विश्वस्त रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया