सधैका लागि दुर्घटना बिमा गर्ने राखेपको घोषणा
राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको दुर्घटना बिमा गर्ने भएको छ । खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई मुख्य ध्येय बनाएको राखेपले आठांै राष्ट्रिय प्रतियोगितादेखि नै खेलाडीहरुको दुर्घटना बिमा गर्ने योजना अघि सारेको हो । ‘सधैका लागि दुर्घटना बिमा गर्ने योजनालाई अगाडि बढाएका छौं’, राखेपका सदस्य सचिव केशव कुमार विष्टले शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘खेलाडीको सुरक्षामा कुनै किसिमको सम्झौता हुँदैन ।’
आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले पत्रकार सम्मेलन गरेको हो । खेलपिच्छे स्वास्थ्य सेवा दिन थालिएको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले खेलाडीलाई आइपर्ने जुनसुकै स्वास्थ्य समस्याका लागि अपटुडेट सेवा तैनाथ गरिएको बताए । खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै नेपालगन्ज रंगशालाको पौडी पोखरी स्थित भेन्युमा मेडिकल सेन्टर सञ्चालन गर्ने राखेपका सदस्य सचिव विष्टले जानकारी दिए ।
उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको पौडेलले बताए ।
उपचारका लागि भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर, मेडिकल कलेज नेपालगन्ज, भिजन आँखा अस्पतालमा उपचारका लागि प्रवन्ध मिलाइएको छ । घाइते खेलाडीका लागि अस्पतालका आपतकालीन कक्षमा दुईदेखि चार वटा शैया रिजर्ब राखिने संयोजक पौडेलले बताए । गम्भीर चोटपटक लागेका खेलाडीका लागि नेपालगन्जमा उपचार सम्भव नभएको खण्ड्मा काठमाडौसम्म लगेर पनि थप उपचारको व्यवस्था मिलाएको छ । आठौं राष्ट्रिय खेलकुदमा ५ हजार २ सय ११ जना खेलाडी, ६ सय ४० टिम प्रशिक्षक, ४ सय ६१ टिम व्यवस्थापक गरी ६ हजार ३ सय १२ जना सहित विभिन्न उपसमितिका पदाधिकारी सहभागी छन् ।
भेरी अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारीले अस्पतालमा तीन वटा इमरजेन्सी बेड २४सैं घण्टाका लागि खाली राखिएको जानकारी दिंदै आइपर्दा उच्च प्राथमिकताका साथ खेलाडीहरुका लागि विशेष सेवा प्रदान गर्न बेड, औषधी र जनशक्ति अलर्ट राखिएको बताए । ‘त्यसो गर्दा खेलाडीले उपचारमा कुनै पैसा तिर्नु पर्दैन’, डा. अधिकारीले भने, ‘राखेपले सम्झौता अनुसार अस्पताललाई प्रतियोगिता पछि रकम भुक्तानी गर्नेछ ।’
आठौंलाई मध्यनजर गठित स्वास्थ्य उपसमितिले डा. प्रकाश बहादुर थापा, डा. प्रचण्ड गौतम, डा. तिर्थेन्द्र खड्का, डा. सन्दिप गुरुङ्ग, डा. लक्ष्मण अधिकारी र डा. बबिता अधिकारीलाई मेडिकल सेन्टरको समन्वयकर्ताका रुपमा चयन गरेको छ । उपसमितिका सदस्य सचिव तिलक बहादुर नेपालीका अनुसार, भेरी अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारी मुख्य मेडिकल व्यवस्थापक रहेको आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्यका लागि डा. ज्ञानेन्द्र विक्रम शाह, तिलक बहादुर नेपाली घुम्ति सेवा समन्वयकर्ता छन् । डा. सन्तोष पौडेल र डा. रमेश ढकाल विशिष्ट पाहुना स्वास्थ्य समन्वयकर्ता तथा डा. संकेत रिसाल आकस्मिक सेवा समन्वयकर्ता नियुक्त गरिएका छन् ।
आवास स्वास्थ्यका लागि डा. राजु डंगोल, प्रदिप पोखरेल तथा एम्बुलेन्स व्यवस्थापन समन्वयका लागि कृष्णराज खनाललाई नियुक्त गरिएको स्वास्थ्य उपसमितिले जनाएको छ । ‘प्रत्येक खेल स्थलमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको मेडिकल टिम औषधी उपचारका लागि एम्बुलेन्स सहित खटिएका छन्’, पत्रकार सम्मेलनमा स्वास्थ्य संयोजक पौडेलले भने ।
मिडिया कार्यशाला
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रबार नेपालगन्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा हुन लागेको खेल महोत्सवलाई सफल, मर्या्दित बनाउन शुक्रबार पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो ।
खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ । कार्यशालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारका निम्ति छुट्याईएको रकमको सदुपयोग गर्ने बारे समेत जानकारी गराएको छ ।
कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुरमा कार्यरत पवन आचार्यले सहजीकरण गरेका थिए । कार्यशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार समितिका संयाजक रोहित दाहाल, सदस्य टिएस ठकुरी र सचिव कुमार बस्नेतले समेत प्रतियोगिताबारे धारणा राखेका थिए ।