चल्दै ‘चेस’को स्पर्धा

बाँके जिल्ला बुद्धिचाल संघले आसन्न आठौं राष्ट्रिय खेलकुदलाई मध्येनजर नियमित अभ्यास र प्रतिष्पर्धालाई सञ्चालन गरेको जनाएको छ । त्यसक्रममा शनिवार बाँके जिल्ला बुद्धिचाल संघले तेस्रो चरणको अभ्यासात्मक चेस प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बाँके र बर्दियाका खेलाडीहरुको सहभागिता रहेको संघका कार्यसमिति सदस्य समेत रहेका कार्यक्रम संयोजक पशुपतिनाथ योगीले जानकारी दिए ।

 
बाँके जिल्ला बुद्धिचाल संघका अध्यक्ष धनराम वलीको अध्यक्षतामा शुभारम्भ भएको प्रतियोगितामा खुला तर्फ बर्दियाले सबै पुरस्कार लग्न सफल भएको छ । स्पर्धामा सहभागीहरुबाट जय बहादुर सुनार प्रथम, किरण नापित दोस्रो र जगत थापा तेस्रो भएका छन् ।

 
कार्यक्रम संयोजक योगीका अनुसार, छात्रा तर्फ पशुपति स्कुल राँझाकी दिप्ती ढकाल प्रथम, युनाइटेड एजुकेशनल एकेडेमीकी श्रेया नाग दोस्रो र डाइनामिक स्कुल बानियाभार कि रिता चौधरी तेस्रो हुन सफल भइन् । कमल पोखरी स्कुल राझाका अनुपजंग शाह यस पटकपनि छात्रतर्फ प्रथम भए । उनी गतसाता पनि सबैलाई उछिन्न सफल थिए । पशुपति स्कुल राँझाकै असिम बोहरा दोस्रो, भानु मा.वि. खजुराका युवराज यादव तेस्रो र ध्रुवतारा स्कुल सितापुरका सुदन शर्मा चौथो हुन सफल भए ।

 
दस वर्ष मुनिका खेलाडीहरुमा भने यो साता पनि सम्यक गैरे पुरस्कृत भए । होप इन्टरनेशनलमा कक्षा १ अध्ययनरत ७ वर्षीय गैरे लगातार तेस्रो चरण सम्म पुरस्कृत हुन सफल भएका हुन् । सबै विजेताहरुलाई बाँके जिल्ला बुद्धिचाल संघका सहसचिव अभिराज क्षेत्री, बर्दिया जिल्ला बुद्धिचाल संघका अध्यक्ष किरण नापित, महेन्द्र नमुना मा.वि. नेपालगन्जका सेवा निवृत्त प्रधानाध्यापक पुरन चन्द नाग र कमल पोखरी स्कुल राझाका प्रिन्सीपल डिल्लीजंग शाहले नगद पुरस्कार वितरण गरेका थिए । संघले आठौंसँगै वैशाखमा दैलेखमा हुने खुला प्रतियोगिता र बाँकेमा हुने रेटिङ्ग प्रतियोगिताको तयारीका लागि पनि नियमित अभ्याससहितको प्रतियोगिता आयोजना गरिरहेको कार्यक्रम संयोजक गोगीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया