रामु ओली
आठौंको तयारी तीव्रताका साथ अगाडी बढिरहेको छ । चैत्र २५ गते देखि सुरु हुने आठौं राष्ट्रिय खेलकुदको मिति नजिकिदै गर्दा केहीले पूर्वाधार निर्माणको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी गरे पनि नेपालगन्जबासी भने निकै उत्साहित र आशाबादी छन् । उता खजुरा गाउँपालिका समेत केही खेल हुने आठौंको विषयलाई लिएर खजुरा गाउँपालिकाका स्थानीय तथा ब्यापारीहरु समेत निकै उत्साहित रहेका छन् ।
‘गाउँपालिका र आफ्नो वडामा आठौं खेलकुद हुने कुराले हामी सम्पूर्ण खजुराबासी उत्साहित भएको छौं’, खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष देबिलाल शर्माले भने, ‘हामीले आठौंलाई सफल बनाउन वडाको तर्फबाट र स्थानीयको नाताले सरसफाइदेखि सजावटसम्मको कार्य गर्ने छौं ।’ उनले आठौंको खजुरालाई चिनाउने अवसर भएकोले पनि वडाको तर्फबाट भव्यता दिने तयारी अवस्थामा रहेको बताए ।
खजुरा गाउँपालिका अन्तर्गत पर्ने रिमझिम बजारका हार्डवेयर ब्यवसायी रमेश थापाले समेत आठौंले सम्पूर्ण खजुराबासी मात्रै नभएर सम्पुर्ण बाँकेबासी खुसी र उत्साहित भएको बताएका छन् । ‘ब्यापार संगै हाम्रो ठाउँको समेत नाम हुने छ यो भन्दा ठूलो कुरो हाम्रो लागि के हुन सक्छ र,’ थापाले बताए । त्यस्तै नेपालगन्ज रंगशालाका स्थानिय बासिन्दा तथा ब्यवसायी मुग बहादुर शाह समेत आठौंको कुराले निकै उत्साही रहेका छन् ।
आफ्नै टोलमा आठौं खेलकुद हुदा हामी जति खुसी त को भयो होलान् ,घर आगनमा खेल हुँदैछ । खेलकुदको क्षेत्रमा उल्लेख्य भौतिक पूर्वाधार समेतको बिकास हुँदैछ । ‘यसले भोलिका दिनमा समेत नेपालगन्जको र हाम्रो टोलको समेत भविष्य उज्वल पार्छ, नेपालगन्जको ब्यापारमा समेत समग्र रुपमा वृद्धि हुन्छ त्यसैले हामी टोल बासी निकै उत्साहित छौ’, शाहले भने ।
रंगशाला पछाडी घर रहेका बम बहादुर खड्काले घरको दैलोमा यस्तो राष्ट्रिय खेल देख्न पाउनु आफ्नो जीवनकै पहिलो खुशिको क्षण हुने बताए । स्थानीय खड्का र शाहले टोलमा छलफल गरेर आठौंको लागि टोलबासीले क गर्न सकिन्छ भनेर सल्लाह गर्ने र आठौं सफल पार्न हरेक घर देखि अपनत्व ग्रहण गरेर आफ्नो टोल सरसफाइ देखि लिएर पानी सम्मको ब्यवस्था मिलाउने, घरमा सजावट सम्मको काम हुन सक्ने बताए ।
हामीले हाम्रो नगर र टोलको इज्जत नाम र प्रतिष्ठाको र आठौं सफल बनाउन आफुले गर्न सक्ने हदै सम्मको कार्यहरु गर्ने बताउँदै सोही ठाउँका पूर्ण प्रकाश शर्मा भन्छन्, ‘आठौं हुने निश्चित जस्तै भएकोले निकै उत्साहित छौं ।’
महानगरको परिकल्पना गरेको नेपालगन्जको लागि आठौं अवसर संगै नासो हो । खेलकुदका भौतिक पूर्वाधार निर्माणको दृष्टिले नेपालगन्जको लागि यो स्वर्ण समय समेत रहेको अवस्थामा संचारकर्मी तथा भ्रष्टाचार बिरोधी अभियन्ता समेत रहेका नमस्कार शाहले मितिको विषयले केही अन्योल सृजना रहेको बताए पनि समग्रमा नेपालगन्ज र प्रदेश पाँचको प्रतिस्ठाको र गर्वको कुरा रहेकोले उत्साहित रहेको बताएका छन् ।
नेपालगन्ज रंगशाला मुल गेटमा रहेर ब्यवसाय गरि रहेका रामबाग नेपालगन्जका गोबिन्द समेत नगरबासी र ब्यवसायी भएको नताले समेत निकै खुसी भएको बताएका छन् । ‘आठौं हाम्रो समेत हो, हाम्रै लागि हो किनकी यसले हाम्रो टोल, हाम्रो सहर चिनाउँछ । भौतिक पूर्वाधार हामीले नै उपयोग गर्न पाउछौ’, गोविन्द भन्छन्, ‘हामीले नै गर्व गर्ने अवसर प्राप्त गर्छौ र ब्यापारिक दृष्टिले समेत आठौं बाँकेका लागि लाभदायक छ ।’ उनले आफ्नो ब्यक्तिगत तर्फबाट समेत आठौंको लागि भावनात्मक सहयोग संगै दर्शक तथा खेलाडीहरु सुबिधाको लागि समेत ब्यापारिक प्रायोजनका केही सुबिधाहरु थप्ने जानकारी दिए ।
उता रंगशालाकै स्थानीय बासिन्दा बिष्णु शाह पेशाले ब्यवसायी भएपनि खेलप्रति निकै झुकाव राख्छन् । त्यसैले पनि उनी आठौं आफ्नै दैलोमा हुन गैरहेकोमा निकै खुसी छन् । घरको छतबाटै खेलहरु हेर्ने योजना बुन्दै गरेका शाहले टोलमा समेत सरसफाई देखि लिएर अन्य कार्य गरेर आठौंको स्वागत र आठौंको अपनत्व ग्रहण गर्ने कुरामा दृढ रहेको बताउँछन् ।