‘अब चक्रिय प्रणालीमा राष्ट्रिय खेलकुद’

आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भैरहेका खेल पूर्वाधारहरुको यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा खेल पदाधिकारीहरुले स्थलगत निरीक्षण गरेका छन् । मन्त्री विश्वकर्मा लगायतको टोलीले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि रुपन्देही, दाङ, बर्दिया र बाँकेमा निर्माण भइरहेका पूर्वाधारको निरीक्षण गरेको हो ।
रुपन्देहीको बुटवल, दाङ हुँदै बर्दिया पछि बाँकेमा निर्माण सम्पन्न भएका र निर्माणाधिन संरचनाको निरीक्षण गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । प्रतियोगिताका लागि निर्माणाधिन अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री विश्वकर्माले तीब्र गतिमा निर्माणको काम भइरहेको बताए । अधिकांश संरचना अन्तिम चरणमा पुगेको बताउँदै उनले केही संरचना सम्पन्न हुने क्रममा रहेको बताए ।
उनले निर्माण कम्पनी र प्राविधिकसँग पनि निर्माणाधिन संरचनाका बारेमा राय, सुझाव लिएका छन् । नेपालगन्ज रंगशालामा निर्माण कम्पनी र प्राविधिकसँग निर्माणाधिन पूर्वाधारका बारेमा जानकारी लिएको अध्यक्ष ओलीले बताए । उनले भिआइपी प्यारापिट, ट्रयाक एण्ड फिल्ड, सुटिङ, भारोत्तोलन, स्विमिङ, कवर्ड हल लगायतका संरचनाको अवस्थाका बारेमा मन्त्री सुनारले जानकारी लिए ।
मन्त्री विश्वकर्माले दाङको बेलझुण्डीमा निर्माणाधिन ट्रयाक एण्ड फिल्ड, घोराहीको बास्केटबल कोर्ट, तुलसीपुरको कराँते कवर्ड हल, लमहीको क्रिकेट मैदान, घोराहीको ब्याडमिन्टन कोट, बाँकेको कोहलपुरस्थित क्रिकेट मैदान, बर्दिया बाँसगढीको कवड्डी हल, भुरीगाउँको खो–खो, गुलरियाको एथलेटिक्स ट्रयाक, सेपाकटाक्रो हल लगायत संरचनाको निरीक्षण गरेर नेपालगन्ज फर्किएका छन् ।
उनीसँगै राखेपका सदस्य सचिव विष्ट, उपाध्यक्ष पिताम्वर तिम्सिना लगायतले पनि भौतिक पूर्वाधारको निरीक्षण गरेका थिए । यसैबीच, खेलकुद मन्त्री विश्वकर्माले आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्ज रंगशालामा स्थापना गरिएको हात्तीको छावा ‘मस्कट’ को सोमवार अनावरण गरेका छन् ।

 

खेलकुद मन्त्री विश्वकर्माले आगामी चैत्र १५ गते काठमाडौंमा बस्ने राष्ट्रिय खेलकुद परिषद्को बैठकले मिति निश्चित गर्ने जानकारी दिंदै भने, ‘२० गते नेपालगन्जमै मूल आयोजक समितिको बैठक बस्छ ।’ उनले आठौंको आयोजनामा निश्चित हुन आश्वस्त पार्दै भने, ‘नेपालगन्ज लगायत तोकिएकै भेनु र मिति भित्रै आठौंको आयोजना हुन्छ ।’ उनले पूर्वाधारका कारण मिति तोक्न भैरहेको ढिलाई र बाध्यता बुझ्न आव्हान गर्दै भने, ‘सञ्चारकर्मी साथीहरुले आठौं आयोजनाका बारेमा निराशाको सञ्चार नगरौं ।’

 

मन्त्री विश्वकर्माले राष्ट्रिय प्रतियोगिता सञ्चालन कार्यविधि नै तयार गरेर आगामी राष्ट्रिय प्रतियोगिताहरु पूर्वाधार सहित चक्रिय प्रणालीमा देशका सात वटै प्रदेशमा क्रमशः गर्दै जाने नीतिगत सुनिश्चितता गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया