कबड्डीलाई नगरपालिकाले सघाउने
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश ५ मा निर्माण भएका संरचनाहरु फिनिसिङ कार्य सुरु भएको छ । नेपालगन्ज रंगशाला बाहेक आठौंका लागि निर्माण भएका सबै जसो संरचना निर्माण करिब सकिएको अवस्थामा छन् । रंगशालाका लागि पनि भीआइपी प्याराफिट नेपालगन्ज भन्सार सम्म ल्याइसकेको छ । जसलाई नेपाल भित्र्याउन भन्सार प्रक्रियामा रहेको खेलकुद विकास समितिका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बर्दियाको बाँसगढी नगरपालिका–४, हाउपुरमा हुने कवड्डी प्रतियोगितालाई नगरपालिकाले सहयोग गर्ने भएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा कबड्डी प्रतियोगिता आयोजना हुने भएपछि त्यसलाई भव्य बनाउन विभिन्न सरोकारवाला निकायसँग छलफल गरि विभिन्न उपसमिति समेत गठन गरेको छ ।
शुक्रवार सर्वदलिय भेला डाकेर नगरपालिकाले प्रतियोगितामा सहभागी हुने खेलाडी, ब्यवस्थापक, पाहुना, कोच तथा रेफ्रीको बास तथा खानाको ब्यवस्था मिलाउन र यातायातलाई सहज बनाउन उपसमिति गठन गरिएको नगर प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।
उनले प्रतियोगितालाई लक्षित गरि बाँसगढी नगर क्षेत्रको सफाई गर्न बाँसगढी उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिएको बताए । उनले स्वागत–सत्कार, झाँकी, यातायात, बास तथा भोजन उपसमिति गठन गरिएको बताए । प्रतियोगितालाई सफल बनाउन सवै किसिमका उपाय अवलम्बन गर्ने भएका छौँ,’ उनले भने ।
बाँसगढी नगरपालिकाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न विभिन्न उपसमिति बनाएर अभियानमा जुटेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । उनले नगर प्रमुखको अग्रसरता लोभ लाग्दो देखिएको बताए ।