आठौंका १५ खेल बाँकेमा

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत १५ विधाको खेल बाँकेमा हुने निश्चित भएको छ । कुल ३८ खेल मध्ये १५ विधाका खेल बाँकेमा गर्न प्रस्ताव अनुसार काम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । उनले १५ मध्ये १० वटा खेल नेपालगन्जमा हुने बताए ।

 
उनका अनुसार, नेपालगन्जमा फुटवल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्डो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ । भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताए ।

 
उनले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरिगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कवड्डी प्रतियोगिता हुने निश्चित भएको बताए । कपिलबस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटवल, तुलसीपुरमा कराँते र उसु खेल हुने प्रस्ताव अनुसार काम भइरहेको छ ।

 
ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङ टेनिस र शारिरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको उनले बताए । एक–दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उनले बताए । ‘प्रस्ताव गरिएकै ठाउँमा प्रतियोगिता आयोजना गर्न पक्का भइसकेको छ । भौतिक संरचनाका कारण कुनै–कुनै खेल सार्नुपर्ने अवस्था छ,’ उनले भने ।

 
भिआइपी प्यारापिटको सामान रुपईडिहामा रोकियो

सर्वाधिक प्रतिक्षापछि नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिटका लागि चीनबाट आएको पाँच वटा मालबाहक गाडी सीमावर्ती भारतीय बजार रुपइडिहामा रोकिएका छन् । कलकत्ताबाट भिआइपी प्यारापिटको सामान ल्याएर आएका ति कन्टेनर नेपालगन्जदेखि झण्डै सात किलोमिटर दक्षिणमा रोकिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले बताए ।

 

उनले भन्सार प्रक्रिया मिलाउन ति मालबाहक कन्टेनर उतै रोकिएको बताए । चीनबाट अर्डर गरेर कलकत्ता हुँदै नेपालगन्ज ल्याउन लागिएको भिआइपी प्यारापिटको सामान पक्रिया पु¥याएर विहीवारसम्म नेपालगन्ज भन्सार कार्यालयमा आउने उनले बताए ।

 

पाँच वटा मालबाहक कन्टेनर रुपइडिहा पुगे पनि एउटा अझँै आउन बाँकी रहेको उनले बताए । ६० फिट लम्बाइका गाडीमा ४० फिट लम्बाई र १६ फिट उचाइँका कन्टेनर राखिएको उनले बताए । भन्सार दररेट नखुलेर आएका कारण भन्सार प्रक्रिया पूरा गर्न समस्या भएको बुझिएको छ । छिटो सामान ल्याउन राष्ट्रिय खेलकुद परिषदले पहल गरिरहेको उनले बताए । भिआइपी प्यारापिटको सामान आउन समय लाग्दा आठौं राष्ट्रिय खेलकुदको मिति तोक्न ढिलाई भएको राष्ट्रिय खेलकुद परिषदले दावी गर्दै आएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया