दुर्ग बहादुर थापा
अध्यक्ष
बाँके जिल्ला क्रिकेट संघ
नेपाली क्रिकेट जगतले यतिबेला सबैको ध्यान खिचिरहँदा नेपालगन्जमा आज शनिवारबाट दोस्रो मेयर कप टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु हँुदैछ । नेपाल क्रिकेट संघ सेलाएर बसेको अवस्थामा पुरुष क्रिकेट टोलीले युएईमा जारी एक दिवसीय तथा टी २० प्रतियोगितामा राम्रो नतिजा निकाली रहँदा आजबाट नै नेपाली क्रिकेटलाई पहिलो पटक अक्सन हुँदै क्रिकेटको शहरको रुपमा परिचित गराएको धनगढीमा हुन लागेको डीपीएल किन नहोस् यतिबेला फेिर क्रिकेट प्रेमीहरुका लागि नेपाल क्रिकेटमय भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउनका लागि घरेलु क्रिकेटको ठुलो योगदान रहने गर्दछ । क्यानको निष्कृयताले नयाँ खेलाडी, सिनियर खेलाडी, भोलेन्टरको प्रशिक्षकको भविष्यमा प्रश्न चिन्ह त उठाएको छ नै तर संग संगै क्रिकेटका लागि केही गर्ने साेंच रहेका पदाधिकारीहरु समेत चाहेर पनि केहि गर्न नसकेको बताउँछन् । डीपीएलले क्रिकेटमा व्यवसायिकतालाई नयाँ उचाईमा पुर्याए पनि बांके जिल्ला जसले थुुप्रै अन्तर्राष्ट्रिय महिला तथा पुरुष क्रिकेटर जन्माई सक्यो र अन्य धेरै जिल्लाहरुमा भने क्रिकेटका धेरै फलदायी प्रतियोगिता हुन सकेका छैनन् । कतै नयाँ खेलाडी उत्पादनमा कमि त कतै सिनियर खेलाडीहरुले खेल्न नपाएका गुनासो, कतै मुस्किलले हुने प्रतियोगिताले खेलाडीहरु निराश छन् ।
लामो समय पछि बांके जिल्लामा जिल्ला क्रिकेट संघको सक्रियतामा क्रिकेट प्रतियोगिता हँुदै छ, नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा वार्षिक कार्यक्रम अन्तर्गत दोस्रो संस्करणमा प्रवेश गरेको मेयर कप क्रिकेट प्रतियोगितामा अघिल्लो चरणको भन्दा तेब्बर गुणाले बृद्धि भएको टीम सहभागिता लगायतको सेरोफेरोमा हामीले बांके जिल्लाको क्रिकेटको गतिविधिका विषयमा बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्ग बहादुर थापा मगर संग गरेको कुराकानी संक्षेप ।
दोस्रो मेयर कपको तयारी कस्तो छ ?
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको छ । गत वर्ष ६ वटा विद्यालयको सहभागिता रहेको मेयर कप प्रतियोगितामा यस पटक १७ जना विद्यालयको सहभागिताले हामीलाई अझै हौसला मिलेको छ । पुरस्कारहरु पनि थप गर्दै गएका छौं, यस पटक प्रतियोगिताको उत्कृष्ट खेलाडीले गेयर साइकल पाउने छन् । मेयर कपका आकर्षण बढाउँदै जाने गरि योजना बनाएका छौं ।
बांके जिल्ला क्रिकेट संघले यति लामो समय पछि प्रतियोगिता आयोजना गर्दैछ किन ?
बांके जिल्लामा निकै राम्रा प्रतियोगिता भइरहेका छन्, ग्रीन ईभेन्टोले आयोजना गरेको नेपालगन्ज कप, जेएमसी क्रिकेट प्रतियोगिता निकै राम्रा क्रिकेट प्रतियोगिता भइरहेका छन् । तर यी प्रतियोगिता आयोजना गर्दा आयोजकको भित्र मर्मको बारेमा कहिल्यै समाचार आएन । नेपालगन्जमा क्रिकेट मैदानको अभावमा आयोजकहरुले निकै दुख गरेर प्रतियोगिता आयोजना गरिरहेका छन् । विगतमा बी.डी.सी.एले क्रिकेट प्रतियोगिता आयोजना गर्न नसक्नुको कारण खेल मैदानको अभावले नै हो ।
क्रिकेट खेल मैदानको अभावले गर्दा मात्र बी.डी.सी.ए ले क्रिकेटका गतिविधि गर्न नसकेको हो त ? क्रिकेट मैदानको अभाव हो की क्रिकेटको गतिविधिलाई चाहिने बजेटको अभावले हो ? कि मेयर कपको आर्थिक सहयोगलाई पर्खिएको ?
बजेटको अभाव भन्दा पनि क्रिकेट खेलको मैदान हामीले साेंचे अनुरुप नदेख्दा प्रतियोगिताको ढिलासुस्ती देखिएको हो । नगरका मेयरको कार्यक्रम रहेकाले र मेयर स्वयमले नै मंगल प्रसाद मा.वि लाई पत्र पठाएका कारण यो प्रतियोगितामा हामीलाई सहज भएको हो ।
बी.डी.सी.एले मैदानको अभाव भनिरहँदा सिनियर खेलाडीहरु भने प्रतियोगिताको अभाव र त्यसमा पनि सिनियर खेलाडीलाई उपेक्षा गरिएको आवाज बाहिरियो नि ?
म आजको यो दैनिक नेपालगन्ज पत्रिकाबाटै जानकारी गराउन चाहन्छु, यहि आउँदो चैत्र महिना भित्र स्वर्गीय लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता गरिंदै छ । मेरो आफनो स्व.बुवाको नामबाट सिनियरहरुका लागि प्रतियोगिता आयोजना हँुदैछ, जसमा ८ वटा टीमको सहभागिता रहने छ र विजेताले रु.एक लाख राशीको पुरस्कार पाउने छ्न । यसमा पनि बांके जिल्लाका सिनियर खेलाडी तथा सम्पुर्ण खेलाडीहरुलाई सहभागिता गराउने छांै । त्यस्तै शनिवार लिग खेल पनि खेलाइने छ । ४ जना सिनियर खेलाडी सुवेन्दु पाण्डे, प्रनित थापा, अनुपम सिंह, सिद्धान्त राज शाहीको नेतृत्वमा ४ वटा टीममा ६० जना खेलाडीहरुलाई ५० ओभरको खेल खेलाउँदै छांै । छात्रा तालिम र छात्रा प्रतियोगिता लगायतका धेरै परियोजनाहरु हामी डिजाइन गरिरहेका छौं । ढुक्क हुनुस्, बाँके जिल्ला क्रिकेट संघ अब निष्कृय रहँदैन ।