बाँकेका सिनियर क्रिकेट खेलाडी आन्दोलित

बाँकेका सिनियर क्रिकेट खेलाडीहरु आन्दोलित भएका छन् । लामो समयदेखि आफुहरुलाई लक्षित गरी प्रतियोगिता गर्न सम्बद्ध जिम्मेवार संस्था असक्षम भएको भन्दै खेलाडीहरु आन्दोलित भएका हुन् । उनीहरुले आइतबार मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज समक्ष लिखित ध्यानाकर्षण पत्र समेत दर्ता गराउँदै बाँके जिल्ला क्रिकेट संघ लगायतका क्रिकेट सम्बद्ध निकायको कडा शब्दमा आलोचना गरेका छन् । उनीहरुले नेपालगन्ज उपमहानगरपालिका समेतलाई बोधार्थ गर्दै आफ्ना आठ बुंदे ध्यानाकर्षण खेलकुद विकास समितिलाई बुझाएका हुन् ।

 
उनीहरुले क्रिकेट संघलाई २४ घण्टे अल्टिमेटम दिएर उक्त माग पूरा नभए आन्दोलनमा जाने घोषणा समेत गर्दै सिनियर क्रिकेट खेलाडी संघर्ष समिति गठन गरेका छन् । त्यसअघि उनीहरु आगामी माघ १८ गतेबाट हुने भनिएको इन्टर स्कुल क्रिकेट प्रतियोगिता स्थगित गरेर त्यसअघि सिनियर खेलाडीहरुको प्रतियोगिता राख्न दबाब दिंदै आएका छन् ।

 
झण्डै ५० जना खेलाडीको हस्ताक्षर क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई बुझाउँदै संघर्ष समितिको अगुवाई गरेका खेलाडीहरुले बाँके जिल्ला क्रिकेट संघको वर्तमान कार्यसमिति विघटन समेतको माग गरे ।
यू–१९, यू–१५ को राष्ट्रिय प्रतियोगितामा सहभागी भैसकेका खेलाडीहरुको ठूलो समूह क्षेत्रीय खेलकुद विकास समिति समक्ष पुगेको हो । ‘हाम्रो भविष्यमाथि खेलवाड हुने काम भएपछि यो अवस्था आएको हो’, खेलाडी सिद्धान्तराज शाहीले दैनिक नेपालगन्जसँग भने, ‘अब सबै कुराको छिनोफानो नभएसम्म संघर्ष रोकिंदैन ।’ उनीसँगै सुभेन्दु पाण्डे, इनामुद्दिन हलवाई, इमरान खान, रमेश सिंह, नासिर अन्सारी, प्रनित थापा लगायतका खेलाडीहरु आन्दोलनको अगुवाई गरिरहेका छन् ।

 
खेलाडीहरुको ध्यानाकर्षण पत्र बुझ्दै क्षेत्रीय अध्यक्ष ओलीले भने, ‘खेलाडीले मैले खेल्न पाउनु पर्छ भन्ने माग जायज छ ।’ अध्यक्ष ओलीले कुनै पनि संघले प्रतियोगिता आयोजना नगरी निष्क्रिय बस्ने कुरा सैह्य नहुने टिप्पणी गरे । ‘पाँच बर्षसम्म तपाईहरु पनि यी विषयहरुलाई अघि सार्न सक्नुभएन’, आफ्नो कार्यकालको समिक्षा गर्दै खेलाडीहरुसँग गुनासिएका अध्यक्ष ओलीले भने, ‘जमिनको खोजी गर्नुस् हामी क्रिकेट मैदान बनाउँछौं ।’ उनले खजुरामा जमिन उपलब्ध भएकै कारण भलिबल स्टेडियम निर्माण भएको तथ्य अघि सार्दै भने, ‘कोहलपुरले उपलब्ध गराएको मैदानमा डेढ करोड लगानी गरिसकियो ।’ ओलीले नेपालगन्जमा मैदान बनाउने कुरामा क्रिकेट संघ, क्रिकेटका खेलाडी र नेपालगन्ज उपमहानगरपालिका कोही गम्भीर नभएको टिप्पणी गरे ।
क्षेत्रीय खेलकुद विकास समितिले क्रिकेटमा देखिएको संकट टार्न छिट्टै त्रिपक्षीय बैठक राख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया