झरीले रोकियो आठौंको पूर्वाधार निर्माण

मौसमी प्रतिकुलताका कारण आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भैरहेका भौतिक पूर्वाधार अवरुद्ध भएको छ । शुक्रबार दिनभर र शनिबार विहान परेको पानीका कारण निर्माण अवरुद्ध भएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिएका छन् ।
आगामी फागुन अन्तिम साता प्रतियोगिताको आयोजना तयारी भएको आठांैका लागि माघ मसान्तसम्म भौतिक पूर्वाधार सक्ने योजना थियो । प्रतियोगिता उद्घाटन स्थल रंगशालामा अहिले भीआइपी प्याराफिट राख्ने स्टक्चर निर्माण, पौडी पोखरी, भारोत्तोलन एकेडेमी, सुटिङ्ग हल निर्माण भैरहेको छ । ‘शुक्रबार परेको झरी रंगशालाका मैदानमा पानी तालिएको छ’, समितिका अध्यक्ष ओलीले भने, ‘यसले तिव्र गतिमा भैरहेको निर्माण कार्य रोकिदिएको छ ।’ उनले आज आइतबार मौसममा सुधार आएमा जेनेरेटरबाट मैदानको पानी फालेर भएपनि काम अगाडि बढाइने बताएका छन् ।
नेपालगन्ज रंगशालामा आज आइतबारबाट घाँस रोप्ने तयारी थियो । त्यसका लागि घाँस मगाइसकिएको थियो । तर, बर्षाले विथोलेपछि उक्त घाँस दाङ्गको बेलझुण्डी रंगशालाका लागि पठाइएको छ । ‘घाँस त्यसै राख्दा बिग्रने भएपछि दाङ्ग पठाएका छौं’, अध्यक्ष ओलीले भने, ‘नेपालगन्जमा मौसम अनुकुल भएपछि पुन मगाउने छौं ।’
झरीकै कारण नेपालगन्जमा जारी अन्तर मावि मेयर कप प्रतियोगिता रोकिएको छ । ‘बर्षाले खेल मैदान भिजेपछि शुक्रबार र शनिबार खेल भएनन्’, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने, ‘आइतबारबाट प्रतियोगिता सुचारु हुने गरी मैदान सुख्खा बनाइएको छ ।’
त्यस्तै, कोहलपुरमा आयोजित मेयर कप रनिङ्ग शिल्डको दोस्रो संस्करण पनि झरीका कारण शुक्रबार प्रभावित रह्यो । शुक्रबार उद्घाटन कार्यक्रम पछि स्थगित प्रतियोगिता शनिबारबाट भने सुचारु गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया