राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट भौतिक पूर्वाधार निर्माण अनुगमनमा
आगामी माघको अन्तिम साता नेपालगन्जमा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुदका लागि भैरहेको पूर्वाधार निर्माण कार्य सन्तोषजनक ढंगले अगाडि बढेको प्रतिक्रिया खेलकुद सम्बद्ध पदाधिकारीले दिएका छन् ।
भौतिक पूर्वाधार निर्माणको अनुगमनका लागि नेपालगन्ज आइपुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बाँके, बर्दियामा निर्माणाधिन आधा दर्जन बढी पूर्वाधारहरुको मंगलबार अनुगमन गरेका हुन् । ‘७० प्रतिशत निर्माण कार्य सकिएको छ’, खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले अनुगमनपछि दैनिक नेपालगन्जसँग भने, ‘अनुगमन भएका निर्माणाधीन पूर्वाधारहरुबाट सदस्य सचिव सन्तुष्ट हुनुहुन्छ ।’ सदस्य सचिव विष्टले सन्तोषजनक निर्माण कार्यलाई समयमै टुङ्ग्याउन सम्बद्धहरुलाई निर्देशन दिएको जानकारी दिंदै अध्यक्ष ओलीले निर्धारित मितिसम्म पूर्वाधार निर्माण कार्य सकिने कुरामा आफु विश्वस्त रहेको बताए ।
सदस्य सचिव विष्ट, राखेपका सदस्य विनोद मैनाली, अध्यक्ष ओली लगायतको टोलीले कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, बर्दिया, बाँसगढी स्थित कबड्डी कबर्ड हल, भुरी गाउँस्थित खोखो कबर्ड हल र गुलरिया स्थित एथलेक्टिस ट्रयाकको अनुगमन गरेको छ । टोलीले मंगलबार नै बाँकेको खजुरा सितापुर स्थित शुक्र भलिबल स्टेडियम र नेपालगन्ज रंगशाला परिसरमा रहेका ट्रयाक एण्ड फिल्ड, सुटिङ्ग रेन्ज, पौडी पोखरी लगायतका निर्माण कार्यको पनि अनुगमन गरिएको छ ।
झण्डै सवा करोड लगानी भैसकेको कोहलपुर स्थित क्रिकेट मैदानमा पिच निर्माण कार्य अन्तिममा छ । अध्यक्ष ओलीका अनुसार, बाँसगढीको कबड्डी कबर्ड हलका लागि एक करोड ६२ लाख बजेट छुट्याइएको छ । भुरीगाउँको कबर्डहलका लागि १ करोड ७६ लाख र गुलरिया एथलेक्टिस ट्रयाकमा ५० लाख लगानीबाट निर्माण कार्य भैरहेको छ ।
‘शुक्र भलिबल स्टेडियम खजुराका लागि थप डेढ करोड माग गरिएको छ’, निर्माण कार्य उत्साहजनक ढंगले भैरहेको जानकारी दिंदै ओलीले दैनिक नेपालगन्जसँग भने, ‘एक करोड विनियोजित बजेट खर्च गरि सकिएको छ ।’ अध्यक्ष ओलीका अनुसार, आठौंलाई मध्यनजर निर्माणधिन पूर्वाधारहरुको ७० प्रतिशत काम सकिएको छ ।
भौतिक पूर्वाधार निर्माण कार्य समयमै सम्पन्न नहुँदा मंसिरको तेस्रो साताबाट हुने भनिएको आठौं राष्ट्रिय खेलकुद पर सारिएको हो ।
आजबाट सचिवालय
आठौं राष्ट्रिय खेलकुदका लागि आज बुधबारबाट नेपालगन्जमा सचिवालय सञ्चालनमा ल्याइने भएको छ ।
औपचारिक कार्यक्रम बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सचिवालय उद्घाटन गर्न लागेका हुन् । ‘सचिवालयसँगै खेलकुदका बाँकी गतिविधिहरुले पनि तिव्रता पाउने छ’, खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले भने ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका नाममा रहेको साविकको नेपालगन्ज स्थित खेलकुद विकास समितिलाई प्रादेशिक संरचनामा काम गर्ने अख्तियारी प्रदान गरि सकिएपनि अब नामाकरण पनि त्यसैगरी गरिने तयारी पनि भैरहेको अध्यक्ष ओलीले जानकारी दिए ।
2075-09-11