नेपालगन्जमा अन्तर्राष्ट्रिय खेलाडी भेला गरिंदै

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर पहिलो पटक प्रदेश स्तरमा अन्तर्राष्ट्रिय खेलाडीहरुको आयोजना गर्न लागिएको हो

 
नेपालगन्जमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीहरुको भेला गरिने भएको छ । प्रदेश ५ र साविकको मध्यपश्चिम अन्तर्गतका सबै जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरुको भेला गर्न लागिएको हो ।

 
‘२२ वटा जिल्ला अन्तर्गत रहेका जतिपनि राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरु हुनुहुन्छ सबैलाई नेपालगन्ज आमन्त्रण गर्दैछौं’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आयोजनाबारे भने, ‘त्यसका लागि सम्बद्ध सबै जिल्ला मार्फत अभिलेख संकलन कार्य भैरहेको छ ।’ आठौंको जिल्ला स्तरीय छनोट खेलका कारण काममा केही ढिलाई भएपनि सम्बन्धित जिल्लाहरुले खेलाडीका अभिलेख तयार गरिरहेको जानकारी प्राप्त भएको समितिले जनाएको छ ।

 
‘अहिलेसम्म राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सबै खेलका सबै पूर्व खेलाडीहरु एकै ठाउँमा भेला गरिनेछ’, अध्यक्ष ओलीले खेलमा लागेपछि राज्यका निकायले सँधै सम्झन्छन्, सम्मान गर्छन्, भन्ने कुराको सन्देश पनि प्रवाह गर्न खोजिएको जानकारी दिंदै भने । उनको भनाइ थियो, ‘२० बर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको बृहत खेलकुद भैरहेकाले खेलकुदको प्रादेशिक केन्द्रका रुपमा यो ठाउँलाई स्थापित गर्न पनि सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुको जमघट अर्थपूर्ण हुनेछ ।’ ओलीले प्रतियोगितालाई भव्यता दिन पूर्व खेलाडीहरुको अनुभवलाई सुझावका रुपमा लिइने पनि योजना सुनाए । ‘उहाँहरु देशविदेशका कयौं ठूलो प्रतियोगितामा सहभागी हुनुभएको छ, देशको प्रतिनिधित्व गर्नुभएको छ’, अध्यक्ष ओलीले उद्घाटनदेखि प्रत्येक इभेन्टलाई भव्यता दिन खेलाडीहरुको अनुभवले सहयोग पुग्ने योजना सुनाउँदै भने, ‘सम्बन्धित खेलमा उहाँहरुलाई उचित जिम्मेवारी दिने योजना पनि हामीले बनाइरहेका छौं ।’

 
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले ओलम्पियन सुरेन्द्र बहादुर हमालदेखि सञ्जु चौधरीसम्मका भारोत्तोलन खेलाडीलाई भेलामा डाकेको छ । ‘शक्ति गौचनदेखि नेरी थापासम्मका क्रिकेटका सेलिब्रेटीहरु भेलामा उपस्थित हुनेछन्’, अध्यक्ष ओलीले ओलम्पियन हरि बहादुर रोकायदेखि केशमाया श्रीससम्मका प्रतिभाशाली व्यक्तित्वहरु अन्तर्राष्ट्रिय खेलाडी भेलामा सहभागी हुने जानकारी दिंदै भने । ‘ओलम्पियन पार्वती थापादेखि स्नेह राणासम्मका सुटिङ प्लेयरहरु पनि भेलाका आकर्षण हुनेछन्’, उनले भने ।

 
आगामी माघको अन्तिम साता आठौं राष्ट्रिय खेलकुदको तयारी गरेको राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिइरहेको छ । ‘अधिकांस भौतिक पूर्वाधारहरु निर्माणको अन्तिम चरणमा छन्’, अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘जिल्ला स्तरका छनोट प्रतियोगिताहरु सकिइसकेका छन् अब प्रदेश स्तरका छनोट, बन्द प्रशिक्षण लगायतका प्रक्रियाहरु अगाडि बढ्दैछन् ।’
प्रदेश ५ का विभिन्न जिल्लामा आयोजना हुने ३५ बढी खेलका राष्ट्रिय प्रतियोगिताहरु अधिकांस नेपालगन्ज र यसका सेरोफेरोमा हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले नेपालगन्ज रंगशालामा भव्य समारोहबीच औपचारिक उद्घाटन गर्ने आठौं राष्ट्रिय प्रतियोगिताको मिति भने अझै एकिन गरिएको छैन । राखेपले माघको अन्तिम साता नै प्रतियोगिता आयोजना हुने बताउँदै आएको छ ।

मेयरकप साइकल दौड

नेपालगन्जमा साइकल दौड प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ । गतबर्षदेखि नेपालगन्ज साइक्लिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजना गर्दै आएको साइकल दौडको दोस्रो संस्करण आगामी पुस १४ गते आयोजना गरिने भएको छ ।
क्लबका सचिव गगन थापाका अनुसार, दुई प्रकारका प्रतियिोगितामा प्रोफेसन पुरुषतर्फ ५५ किलोमिटर, साधारण साइकलतर्फ महिला, पुरुष दुवैका लागि २५ किलोमिटर दुरी तय गरिएको छ । ‘यसपटक प्रतियोगितामा सहभागीहरुको आकर्षण बढेको छ’, क्लबका सदस्य सतिश निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘कैलालीदेखि काठमाडौंसम्मका साइक्लिष्टहरुले रुचि देखाएका छन् ।’

 
मेयर कपको दोस्रो संस्करणमा ३५ हजारदेखि १५ हजारसम्मको पुरस्कार व्यवस्था गरिएको छ । आयोजकले दिएको जानकारी अनुसार, गेयर साइकल पुरुषतर्फ ३५ हजार, साधारण साइकलतर्फ महिला पुरुष दुवैका लागि २५÷२५ हजार बराबरको साइकल पुरस्कार स्वरुप प्रथम हुनेलाई दिइनेछ ।

 
‘प्रतियोगिता अवधीका लागि १ लाख बराबरको दुर्घटना बिमा पनि व्यवस्था गरिएको छ’, निरौलाले भने ।

प्रतिक्रिया

प्रतिक्रिया