मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आयोजना अनुगमन गर्दै समिति

आगामी मंसिरमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण भैरहेका भौतिक पूर्वाधारहरुको आयोजक प्रदेश नं. ५ खेलकुद विकास समितिले अनुगमन गरेको छ । समितिले प्रदेश ५ अन्तर्गतका चार वटा जिल्लाको अनुगमन गरी शनिबार नेपालगन्ज फर्किएको हो ।

 
समितिका अध्यक्ष भीम ओलीसम्मिलित प्राविधिक टोलीले विभिन्न जिल्लामा भैरहेको कार्य प्रगतिको स्थगत अनुगमन गरेको हो । ‘प्रतियोगिता नजिकिंदै छ’, अध्यक्ष ओलीले भने, ‘त्यसैले के–कति प्रगति भैरहेको भन्ने जानकारी लिन स्थलगत अनुगमन गरेका हौं ।’

 
अध्यक्ष ओलीको टोलीले जिल्ला स्थित खेलकुद विकास समितिहरुसँग पनि प्रतियोगिताको तयारीका लागि भैरहेका निर्माण बारे जानकारी लिएको छ । समितिले बजेट अभावमा रोकिएको भुक्तानी पनि सुरु गरिरहेको अध्यक्ष ओलीले जानकारी दिए । ‘अघिल्लो आ.व.मा भएका कामहरुको रोकिएको भुक्तानी पनि सुरु गरेका छौं’, उनले भने, ‘त्यसैका लागि पनि प्राविधिक सहित जिल्ला जिल्ला पुगेका हौं ।’

 
समितिका अध्यक्ष ओलीको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई भेटी प्रतियोगिताको तयारी र भौतिक पूर्वाधार निर्माणका बारेमा जानकारी गराएको छ । ‘प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग र भूमिका बारे पनि छलफल गरेका छौं’, अध्यक्ष ओलीले भने, ‘उहाँहरुबाट सकारात्मक प्रतिबद्धता पाएका छौं ।’

 
भेटमा मुख्यमन्त्री पोखरेलले प्रतियोगितामा पदक जित्ने गरी प्रशिक्षण तथा तयारी अगाडि बढाउन निर्देशन दिएको अध्यक्ष ओलीले जानकारी दिए । ‘प्रदेश सरकारबाट सबै किसिमको सहयोगको प्रतिबद्धता पाएका छौं’, उनले भने ।
प्रदेश नं. ५ अन्तर्गतका कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा लगायत जिल्लाको स्थलगत अनुगमन गरेको अध्यक्ष ओलीको टोलीले यसअघि बाँके, बर्दियामा भैरहेका निर्माणको अनुगमन गरिसकेको छ ।

 
समितिले कपिलवस्तुको मायादेवी खेल मैदान, रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपेन्देही तिलोत्तमाका कबर्ड हल, लङ टेनिस कोर्ट, कञ्चन गाउँपालिकाको झुंगा पहाड खेल मैदान, नवलपरासीको कबर्ड हल, किर्तिपुर खेल मैदान, पाल्पाको बेगनाशकाली गाउँपालिका स्थित चिलाङ्दी खेल मैदान, तानसेनको टुडिखेल, ब्याडमिन्टन कबर्ड हल निरीक्षण गरेको थियो । अनुगमन टोलीमा उपाध्यक्ष नरेन्द्र थापा, इन्जिनियर कार्म बहादुर शाही, प्रशिक्षण प्रमुख जयन्त कुमार शर्माको सहभागिता रहेको थियो ।

 
समितिका अध्यक्ष भीम ओलीले भदौंमा बजेट निकासा भएपछि भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएको जानकारी दिए । ‘स्थलगत अनुगमनका भएका कार्य सन्तोषजनक रुपमा पाएका छौं’, उनले भने, ‘समयमै सबै काम सकेर प्रतियोगितालाई भव्यता दिने हाम्रो प्रयास हो ।’ अध्यक्ष ओली प्रतियोगिताकै सन्दर्भलाई लिएर आज आइतबार काठमाडौं जान लागेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया