बाँकेको खजुरामा आयोजना भैरहेको नेपालगन्ज गोल्ड कपको फाइनलमा रुपन्देही–११ र संकटा क्लब काठमाडौं भिड्ने भएका छन् । बिहिबार भएको खेलमा संकटाले सुदूरपश्चिम–११ लाई हराउँदै फाइनलका लागि बाटो बनाएको हो । यसअघि बुधबार भएको खेलमा लाली रुपन्देही–११ ले नेपालगन्ज–११ लाई हराउँदै फाइनलमा प्रवेश गरिएको छ ।
दोस्रो संस्करणमा पनि रुपन्देही र संकटा नै फाइनलमा पुगेका थिए । त्यतिखेर रुपन्देहीले बाजी मारेको थियो । शनिबार रुपन्देहीलाई उपाधी बचाइराख्ने र संकटालाई दोस्रो गोल्डकप फाइनलको बदला लिने अवसर प्राप्त भएको छ । उपाधीका लागि आज शनिबार ४ बजे प्रतियोगिताको फाइनल खेल हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिएका छन् ।