समाचारदाता
दैनिक नेपालगन्ज
आगामी जेठ १९ गतेदेखि नेपालगन्जमा प्रदेश स्तरीय राष्ट्रपति कप रनिङ्ग शिल्ड आयोजना हुने भएको छ । १२ जिल्लाका ८ सय जति विद्यार्थी खेलाडीहरु सहभागी हुने आयोजनालाई भव्यता दिन आवश्यक तयारीमा जुटिएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले जनाएको छ ।
‘प्रदेश स्तरमा पहिलो पटक राष्ट्रपति कप रनिङ्ग शिल्ड नेपालगन्जले आयोजना गरिरहेकाले यसको भव्यतामा कुनै कसर बाँकी राखिनेछैन’, आयोजक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्ज सँग भने, ‘हामी तयारीमा जुटेका छौं ।’ अध्यक्ष ओलीका अनुसार, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते, उसु, एथलेक्टिस लगायतका विभिन्न इभेन्टमा कक्षा १२ सम्मका छात्र, छात्रहरु प्रतिस्पर्धाका लागि सहभागी हुनेछन् । त्यसका लागि गत चैत्रमा जिल्ला स्तरको छनोट खेल गरिएका छन् ।
नेपालगन्जमा छानिएका टिम तथा खेलाडीहरु जेठ २३ गतेदेखि २५ गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ्ग शिल्डका लागि छनोट हुनेछन् । यसअघि क्षेत्रीय स्तरमा आयोजना हुँदै आएको राष्ट्रपति रनिङ्ग शिल्ड यसपटक देखि प्रादेशिक संरचनामा गर्न लागिएको हो । १०औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रादेशिक स्तरमा गर्न लागिएको अध्यक्ष ओलीले प्रदेश ५ को राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने टुंगो लागेको छ ।
तयारी बुझ्न आउँदै मन्त्री
समाचारदाता
दैनिक नेपालगन्ज
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका अवस्था र तयारी बुझ्न जगत विश्वकर्मा नेपालगन्ज आउने भएका छन् ।
आठौं राष्ट्रिय खेलकुद आयोजना केन्द्रका रुपमा रहेको नेपालगन्जमा खेलकुदका लागि आवश्यक पूर्वाधारहरु निर्माण भैरहेका छन् । ‘खेलकुद मन्त्री विश्वकर्माले आठौं तयारी बारे विशेष चासो राखेर आउन लाग्नु भएको हो’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘मन्त्रीज्यू सँग प्रदेश ५ का जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुको अन्तरक्रिया आयोजना हुनेछ ।’
अध्यक्ष ओलीका अनुसार, प्रदेश ५ का १२ वटै जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुसँग मन्त्री विश्वकर्माले आठौंको तयारी, जिल्लामा भैरहेका खेलकुद पूर्वाधार निर्माण र खेलकुदको अवस्था लगायतका बारेमा छलफल गर्नेछन् ।