समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जमा भैरहेको प्रथम व्यवसायी फुटबल प्रतियोगिताको फाइनल खेल होटल व्यवसायी महासंघ बाँके र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी बीच सोमबार हुने भएको छ । शनिबार भएको सेमिफाइनल प्रतिस्र्धामा होटल व्यवसायी महासंघ बाँकेले नेपालगन्ज जुत्ता, चप्पल व्यवसायी संघलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेल अवधीको अन्तिम ३० सेकेण्ड बाँकी रहँदा होटल तर्फबाट एकमात्र गोल राकेश थापाले गरेका थिए ।
त्यसअघि शुक्रबार भएको सेमिफाइनलमा नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघले नेपालगन्ज इलेक्ट्रिकल एशोसिएसनलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै फाइलनलका लागि योग्य साबित भैसकेको थियो ।
पहिलो पटक नेपालगन्जमा नेपालगन्ज उद्योग संघको वस्तुगत संघको तर्फबाट खुद्रा व्यवसायी संघले यसरी व्यवसायीहरु बीच फुटबल प्रतियोगिताको आयोजना गरेको हो । आयोजनामा विभिन्न ९ टिमको प्रतिस्पर्धात्मक खेलहरुले पछिल्लो एकसाता व्यवसायीहरु खेलमय बने । प्रतियोगिता चलिरहेको पुष्पलाल चोक नजिकैको प्रहरी व्यायामशालाको खेल मैदान यतिबेलाको हरेक विहान फुटबलमय छ ।
व्यवसायिक अगुवादेखि खेल क्षेत्रका पदाधिकारीसम्म पुगेको व्यायामशाला खेल मैदानमा भैरहेको अन्तर व्यवसायी कप फुटबल प्रतिस्पर्धा हेर्दा लाग्छ व्यवसायिक खेलाडीहरुको उपाधी चुम्ने लालसाको भिडन्त हो । विवाददेखि बहशसम्म सबैलाई व्यवस्थापन गर्दै सफलतापूर्वक प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक समेत रहेका आयोजक संस्था नेपालगन्ज तयारी कपडा, जुत्ता–चप्पल तथा खुद्रा व्यवसायी संघका अध्यक्ष भीम बहादुर रानाभाटले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार र द्वितिय हुनेलाई २५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ । ‘उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई ५ हजार १ सय प्रदान गरिनेछ’, अध्यक्ष रानाभाटले भने ।