खजुरामा सुरु भो रनिङ्ग शिल्ड

खजुरा क्षेत्र संस्थागत विद्यालय संगठन (इशाका)को आयोजना बिहीदेखि दोस्रो इशाका रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । खजुरा गाउँपालिका–२ स्थित शुक्र माविको खेल मैदानमा प्रतियोगिताको बाके क्षेत्र नं. ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायले उद्घाटन गरेका थिए ।

 

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य रोकायले आफु खेलकुद क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताए । ‘म आफ्ना ५ बर्षे कार्यकालमा खेलकुदको विकासका लागि आवश्यक पहल गर्नेछु’, उनले भने । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य बाबुराम गौतमले संस्थागत विद्यालयको संगठनले यति ठूलो प्रतियोगिताको आयोजना गर्नु प्रशंसनीय रहेको धारणा राखे । अर्का प्रदेश सभा सदस्य आइपी खरेलले खेलकुदले विद्यार्थीहरुलाई अनुशासित बनाउने भएकाले शिक्षासगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताए ।

 

खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले शिक्षा र खेलकुदको विकासका लागि कुनै विभेद विना संस्थागत विद्यालयसग हातेमालो गरेर अगाडी बढ्न आफु तयार रहेको धारणा राखे । कार्यक्रममा मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले यस्ता प्रतियोगिताले २०७५ मा हुने आठौं राष्ट्रिय खेलकुदलाई टेवा पुर्याउने बताए । कार्यक्रममा स्रोत व्यक्ति जयप्रकाश शाह, जानकी गाउँपालिका उपप्रमुख भुमिसरा धिताल, प्याब्सन का प्रदेश उपाध्यक्ष ऋषि केश जि सि, क्रीसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देल, खजुरा गाउँपालिका वडा नं. २ र ३ का अध्यक्ष देबिलाल खनाल र कान्तुराम गौतम, अन्तर्राष्ट्रिय धाविका केशमाया श्रीस, शुक्र माविका अध्यक्ष शालिकराम खड्का, खजुरा खानेपानीका अध्यक्ष रमेश सिजाली लगायतको उपस्थित थियो । भोला कुमार मल्लले सञ्चालन गरेको कार्यक्रममा स्वागत राजेन्द्र आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रमको अध्यक्षता इशाका अध्यक्ष सतिश निरौलाले गरेका थिए ।

 

प्रतियोगिता उद्घाटन सगै विभिन्न विधाका प्रतियोगिता समेत आयोजना गरिएको छ । ५ हजार मिटर दौडमा दिपक बोर्डिङ्ग स्कुलका अरमान खान पहिलो, गुरा“श चाइल्डहुड एकेडेमीका बसन्त चन्द दोस्रो र अरुणोदय बोर्डिङ्ग स्कुलका दिपक बुढाले तेस्रो स्थान हात पारेका थिए । प्रतियोगितामा पहिलो हुने खानलाई बिबि साइकल स्टोर नेपालगन्जका प्रोपराइटर अब्दुल मो. बागवानले माउन्टेन बाइक पुरस्कार स्वरुप प्रदान गरेका थिए ।

 

त्यसैगरी ३ हजार मिटर छात्रा दौड तर्फ दिपक बोर्डिङकै छात्रा पुष्पा मल्ल प्रथम, जेनिथ बोर्डिङका गिता नेपाली दोस्रो र भुपु सैनिक बोर्डिङका रुबि थापा तेस्रो भइन् । प्रथम हुने छात्रा पुष्पा मल्लले न्युरोड एक इलोक्ट्रोनिक सेतु बिक चोकका तर्फबाट प्रायोजन गरिएको स्मार्ट फोन हात पारेकी छन् । प्रतियोगिता भोलि शनिबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया